अभियानकै रुपमा शुरु गर्यो काठमाण्डौ महानगरले विकासको काम

काठमाडौँ, २० मंसिर २०७४ । पछिल्लो समय काठमाडौँ महानगरपालिकामा विकासको कामले गति लिएको छ ।

जनप्रतिनिधि आएपछिको मुख्य प्राथमिकतामा परेको ‘क्लिन द सिटी’ (सफा शहर) अभियान अहिले तीव्ररुपमा अघि बढेको छ भने अन्य विकास निर्माणको काम पनि भइरहेको छ ।

करिब एक हप्तादेखि बिहानको समयमा ब्रुमर (धुलो सोस्ने) को माध्यमबाट सडकको थुलो उठाएको कामपाले बेलुकीको समयमा भने जेट मेसिनबाट सडक पानीले पखालेर शहर सफा राख्ने कामलाई निरन्तर अघि बढाएको छ ।

स्थानीय सरकारले यसरी काम गरिरहँदा केन्द्र सरकारले सहयोग नगरेको आरोप पनि स्थानीय सरकारले केन्द्र सरकारलाई लगाएको छ ।

स्थानीय सरकारले हरेक विकास निर्माणको काम गर्दा स्थानीय सरकारलाई पूर्व जानकारी र सम्पन्न गर्ने कार्ययोजनासहित दिनुपर्ने करिब एक महिना अघि प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले निर्णय गरिसकेको छ ।

नेपाल सरकारका विभिन्न निकायहरुले महानगरसँग समन्वय नै नगरी आफुखुशी सडक तथा फुटपाथ भत्काउने र लामो समयसम्म मर्मत नगर्ने प्रवृति रहेको भन्दै कामपाले गत १४ गते विज्ञप्ति जारी गरी आगामी दिनमा कामपासँग समन्वय गरेर मात्र काम गर्न पनि विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।

केही समय अघिमात्र कामपाले निर्माण गरेको भोटाहीटीदेखि जमलसम्मको फुटपाथ निर्माण गरिसकेको भएपनि नेपाल खानेपानी विकास समितिले मेलम्ची खानेपानी ल्याउने नाममा भत्काएको बताउँदै कामपाका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो, “यसरी भत्काएको सडक सम्बन्धित निकायले नै निर्माण गर्नुपर्छ ।”

शाक्यका अनुसार अहिले मात्र कामपाले रु डेढ अर्बको सडक निर्माण कार्य गरिरहेको छ । सडक निर्माणअन्तर्गत अहिले ३२ वटै वडामा काम भइरहेको छ ।

नियमानुसार ८ मिटर सम्मको सडक निर्माण गर्ने जिम्मा मात्र काठमाण्डौ महानगरपालिकाको हुन्छ भने ८ मिटरभन्दा माथिको सडक निर्माणको काम केन्द्र सरकारले गर्नुपर्ने रहेको छ । निर्वाचनका समयमा जनताका सामु गरेका प्रतिबद्धता क्रमिक रुपमा पूरा गरिने उहाँले बताउनुभयो ।

कामपाका क्षेत्रमा भएको जस्तोसुकै राम्रा नराम्रा कामको जनतालाई जवफदेहिता काठमाण्डौ महानगरपालिकाले दिनुपर्ने तर निर्माणको काममा केन्द्र सरकारसँग समन्वय नहुँदा समस्या भोग्नु परेको सहप्रवक्ता नवराज ढकालको गुनासो छ ।

एकहप्ता अघिदेखि काठमाण्डौ महानगरपालिकाले सडकको धुलो ब्रुमरको माध्यमबाट उठाउने काम गरिरहेको छ । टुँडीखेल, रत्नपार्क र जमल क्षेत्रमा धुलो उठाउने काम सकिइसकेको छ भने पुतलीसडक क्षेत्रको काम भइरहेको छ । सफा गर्ने क्रममा कामपाले धुलो मात्रै दैनिक ५ टन सङ्कलन गर्ने गरेको छ ।

त्यसैगरी, शहरलाई हरियाली बनाउने काम पनि काठमाण्डौ महानगरपालिकाले गरिरहेको छ । जमल, रत्नपार्क, न्युरोड, सुनधारालगायत स्थानमा वोटविरुवा रोपीसकेको छ भने अन्य केही स्थानमा निर्वाचन पछि रोपिने प्रवक्ता ढकालको भनाई छ ।

केन्द्र सरकारले शुरु गरेका कलङ्की–त्रिपुरेश्वर र चावहील–बौद्ध सडक विस्तारको काम अत्यन्तै सुस्त गतिमा भएपनि काठमाण्डौ महानगरपालिकाका ३२ वटै वडामा काठमाण्डौ महानगरपालिकाको क्षेत्राधिकारभित्र पर्ने खाल्डाखुल्डी पुर्ने काम पनि गरिरहेको छ ।

ढकालले भन्नुभयो, अब काठमाण्डौ महानगरपालिकाले विकासको कामलाई अभियानको रुपमा लिएको छ, क्रमिकरुपमा जनताले महसुस गर्ने गरी काम हुनेछ ।

—शर्मिला पाठक/रासस

 

  • 44Read This News:
  • 451367Total reads:
  • 262651Total visitors: