चितवनमा नक्कली बम आतंक

चितवन, २० मंसिर २०७४ । निर्वाचन विरोधी तत्वले नक्कली बम राखेर तर्साउने गरेका छन् ।

बिहीबार हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई प्रभावित गर्न राखिएका बम सबै नक्कली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । “करिब ९/१० स्थानमा यस्ता तर्साउने काम भए”, प्रहरी उपरीक्षक थापाले भन्नुभयो, “सबै नक्कली मात्रै भेटिएका छन् ।”

उहाँका अनुसार अहिलेसम्म राखिएकामा ३ वटा स्थानमा केही बारुद रहेको पाइए पनि ठूलो क्षति गर्ने खालको नभएको जनाइएको छ । चितवन प्रहरीले शान्तिसुरक्षा चुस्त रहेकाले ढुक्क भएर निर्वाचनमा भाग लिने वातावरण मिलाएको थापाले बताउनुभयो ।

मुख्यगरी नेकपाका कार्यकर्ताले तर्साउने गरेको यस्ता गतिविधि नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको ‘स्पेशल अपरेशन टिम’ परिचालन भएको छ । अहिलेसम्म करिब एक दर्जन ठाउँमा यस्ता शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

तीमध्ये केही ठाउँमा मात्रै बारुदसहित राखिएको भए पनि अन्य ठाउँमा नक्कली (होक्स बम) पाइएको छ । अन्य क्षेत्रमा कहीँ घरकै सिलिण्डर लगेर जलाइएको, कहीँ माटो, ढुंगा भरेर राखिएको तथा बम जस्तो बनाएर बेरेर राखिएको मात्रै पाइएको प्रहरीको भनाइ छ ।

यस्ता गतिविधि राप्ती नगरपालिकामा दुई स्थान, खैरहनीमा दुई स्थान एवं रत्ननगर र कालिका नगरपालिकामा एवं माडी तथा भरतपुर क्षेत्रमा पाइएको प्रहरीले जनाएको छ । ३/४ स्थानमा घरबाटै सिलिण्डर लगेर आगो लगाएको भन्दै उहाँले सिलिण्डरमा आगो लगाएपछि पड्किनु स्वभाविक भएको भन्दै त्यहीँ पनि खुला क्षेत्रमा देखिएको बताउनुभयो ।

प्रहरीको विशेष टोलीले अहिलेसम्म शंकास्पद २०० स्थानमा खोजी गरेको केही ठाउँबाट सामान्य विस्फोटक पदार्थ र त्यसमा प्रयोग हुने अन्य सामग्री बरामद गरेको छ । अहिलेसम्म यस्ता गतिविधि गर्ने २६ जनासहित आपराधिक क्रियाकलापमा लाग्ने ४६ जना नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।

 

  • 29Read This News:
  • 451232Total reads:
  • 262516Total visitors: