रेसुङ्गा विमानस्थलमा वैशाखभित्र परीक्षण उडान गर्नेगरी निर्माणकार्य तिव्र

गुल्मी, ६ मंसिर २०७४ । निर्माणाधीन जिल्लाकै पहिलो रेसुङ्गा विमानस्थलमा आगामी वैशाखभित्र परीक्षण उडान हुने भएको छ ।

जिल्लाको सिमीचौरस्थित उक्त विमानस्थलमा १२ वर्षअघि सर्वेक्षण पूरा भई निर्माण कार्य शुरु भए पनि पर्याप्त बजेट विनियोजन हुन नसक्दा परीक्षण उडानमा ढिलाइ भएको हो ।

कूल ७६ रोपनी ६ आना जग्गामा रहेको सो विमानस्थलमा पर्खाल सम्याएर फिल्ड तयारी गर्ने र ६ हजार ५०० घनमिटर ग्राभेलको जिम्मा लिएका सुनिल–समिर निर्माण सेवा प्रालिले हालसम्म ४ हजार ५०० घनमिटरको काम पूरा गरेको छ ।

आउँदो पुस ९ गतेसम्मका लागि रु ३ करोड १८ लाखको ठेक्का पाएको सो कम्पनीका अध्यक्ष नारायण पोखरेलले विमानस्थलका लागि आवश्यक ३० मिटर रन्वे अपुग हुने देखिएकाले सोका लागि उपभोक्ता समितिले जग्गा अधिग्रहण गरिदिनुपर्ने र अधिग्रहण भइसकेका केही घरधनीले स्थान नछाडेकाले कटिङको काममा ढिलाइ भएको बताउनुभयो ।

विमानस्थलका लागि गठित उपभोक्ता समितिका अध्यक्ष मधुकृष्ण पन्थीले अधिग्रहणको कार्य लगभग पूरा भएकाले यसै वर्षको अन्त्य सम्ममा कच्ची धावनमार्ग तयार हुने बताउनुभयो । उहाँले बजेट अभावमा समयमा काम हुन नसकेको पनि बताउनुभयो । जिल्ला सदरमुकाम तम्घासबाट विमानस्थल ७ किलोमिटरको दूरीमा पर्छ ।

 

  • 46Read This News:
  • 438903Total reads:
  • 250840Total visitors: