भक्तपुरवाट डोलेश्वर दैनिक पत्रिकाको शुरुवात

भक्तपुर, १३ भाद्र २०७४ । सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले भक्तपुरबाट आजबाट प्रकाशन शुरु भएको डोलेश्वर दैनिकको लोकार्पण गर्नुभएको छ ।

आज भक्तपुरमा लोकतान्त्रिक छापा माध्यम सञ्जालले आयोजना गरेको पत्रिका लोकार्पण एवं नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीको सम्मान कार्यक्रममा पत्रिकाको लोकार्पण गरिएको हो ।

राज्यमन्त्री विष्टले लोकतन्त्रलाई संस्थागत गर्ने जिम्मेवारी पत्रकारको पनि भएको औँल्याउँदै महासङ्घका नवनिर्वाचित पदाधिकारीले त्यो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । लोकतन्त्र र पत्रकारिता एकअर्काको परिपूरक रहेको चर्चा गर्दै उहाँले लोकतन्त्रका पक्षमा पत्रकारले कहिल्यै सम्झौता गर्न नहुने बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरिएको थियो ।

राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेलले पत्रकारले समाचार सम्प्रेषण गर्दा सूचनाको हकको प्रयोग गर्न आग्रह गर्दै सत्य समाचारले मात्रै पत्रकारिताको भविष्य सुनिश्चित हुने बताउनुभयो ।

महानगरीय प्रहरी आयुक्त जयबहादुर चन्दले कहिलेकाहीँ सञ्चारमाध्यमबाट सम्प्रेषित हुने गलत समाचारले पत्रकारिताप्रतिको विश्वास गुम्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले पत्रकारिताको विकाससँगै व्यवस्थापनमा भएको कठिनाइप्रति सरकारले चासो दिनुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्य, उपाध्यक्ष दिलीप थापामगर, नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीलगायतले पत्रकार सधैँ देश र जनताको हितका लागि कलम चलाउने बताउनुभयो ।

डोलेश्वर दैनिकका प्रकाशक एवं प्रधान सम्पादक पेशल आचार्य, सम्पादक सुशीला सिग्देलले जनताको आवाजलाई यस पत्रिकामार्फत बुलन्द गर्ने बताउनुभयो ।

 

  • 60Read This News:
  • 417406Total reads:
  • 230162Total visitors: