काठमाडौँ, १७ साउन २०७४ । कवि भवानी पौडेलको कवितासंग्रह ‘समयको सारङ्गी’ सार्वजनिक भएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले शनिबार आयोजना गरेको कार्यक्रममा पुर्ब गृहमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का नेता शक्तिबहादुर बस्नेतले सो पुस्तक लोकार्पण गर्दै सामाजिक वञ्चितीकरणमा परेका पक्षका सपना र आकांक्षालाई कविताले प्रस्तुत गरेको बताउनुभयो ।

कविता संग्रहबारे टिप्पणी गर्दै नियात्राकार प्रतीक ढकालले कवि पौडेलले जीवन र जगतका यथार्थलाई सुन्दर ढङ्गले कवितामा प्रस्तुत गरेको बताए । ’अहिले सबैभन्दा धेरै लेखिने साहित्यिक विधा कविता हो, तर उत्कृष्ट कविता खोज्न भने घोत्लिनै पर्छ,“ उनले भने । समालोचक प्रा डा खगेन्द्रप्रसाद लुइँटेलले पौडेलका कवितामा कवित्व पाइएको छ भन्दै उहाँ साहित्यिक निरन्तरताको कामना गर्नुभयो ।
नेपालीमा स्नातकोत्तर, कानुन र शिक्षा विषयमा स्नातक गर्नुभएका पौडेल पेशाले शिक्षक हुनुहुन्छ ।
-हरिवल्लभ नेपाल


