काठमाडौँ, १६ साउन २०७४। नवौँ पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता भोलिदेखि यहाँ शुरु हुने भएको छ ।
अखिल नेपाल टेबलटेनिस सङ्घको सहयोगमा काठमाडौँ जिल्ला टेबलटेनिस सङ्घको आयोजनामा शुरु हुने सो प्रतियोगितामा विभिन्न २६ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक सङ्घका अध्यक्ष धर्ममान बज्राचार्यले जानकारी दिनुभयो ।
उहाँले प्रतियोगिताअन्तर्गत खुलामा २, कलेजमा ४, स्कूलमा ८, खेलकुद पत्रकारमा २, दृष्टिविहीनमा २, शारीरिक अपाङ्गमा ४ तथा भेट्रानमा पनि समान ४ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
खुलातर्फ पुरुष÷महिला सिंगल्समा प्रतिस्पर्धा हुनेछ । त्यसमा पहिलो हुनेले रु १५ हजार, दोस्रो हुनेले रु १० हजार तथा तेस्रोले रु ५ हजार पुरस्कार पाउनेछन् । बाँकी स्पर्धामा नगद पुरस्कार राखिएको छैन्, आयोजकले जनाएको छ ।
२ सय ६० खेलाडी प्रतिस्पर्धा गर्ने उक्त प्रतियोगिताका खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । प्रतियोगिता साउन २१ गतेसम्म सञ्चालन हुनेछ ।


