भारत/चीन, ८ साउन २०७४। भारत र चीनमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ ।
दवै घटनामा परी कम्तीमा ३१ जना घाइते भएको अधिकारीलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।
भारतको राजस्थान राज्यमा शनिबार भएको बस दुर्घटनामा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने अरु २२ जना घाइते भएका छन् ।
उदयपुर सहरको नेहला गाउँ नजिकै बसका चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृत्यु भएका ९ जनामध्ये ६ जना महिलाको घटनास्थलमै ज्यान गएको थियो । अन्य घाइतेलाई उपचारका लागि नजिकैको स्थानीय सरकारी अस्पतालमा भर्ना गरिएको छ ।
उपचार गराइरहेका मध्ये केहीको अवस्था गम्भीर रहेको अस्पतालका अधिकारीहरुले जानकारी दिएका छन् ।
त्यसैगरी चीनको हेबेई प्रान्तमा शुक्रबार भएको सडक दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अरु ९ जना घाइते भएका छन् ।
स्थानीय प्रहरी अधिकारीले शनिबार दिएको जानकारीअनुसार, मृतकमध्ये ८ जनाको घटनास्थलमै र अन्य ३ जनाको अस्पताल मृत्यु भएको हो ।
राष्ट्रिय राजमार्गमा पर्ने हऔंगमेइ टाउनसिपमा भएको दुर्घटनामा घाइते भएका ७ वर्षदेखि ७० वर्षसम्म रहेको प्रहरीले जनाएको छ । तीमध्ये एक जनाको अवस्था जटिल रहेको अस्पतालको भनाइ छ ।
दुर्घटनाको कारण स्पष्ट भइनसकेकाले प्रहरीले अनुसन्धान भइरहेको बताएको छ ।


