मोटरसाइकल र स्कुटरको सवारी चालक अनुमती पत्रको परिक्षा भक्तपुर जिल्लावाट पनि हुने

भक्तपुर, ३ साउन २०७४। सवारी चालक अनुमति पत्रको प्रयोगात्मक अर्थात् सवारी साधन परीक्षा अब भक्तपुरमै यसै सातादेखि सञ्चालन हुने भएको छ ।

यातायात व्यवस्था कार्यालय भक्तपुरले मध्यपुरथिमि नगरपालिका– ९ राधेराधेस्थित इजी वे सवारी सेन्टर प्रालिमा २ पाङ्ग्रे सवारी साधनको चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने भएको हो ।

कार्यालय र प्रालिबीच सवारी केन्द्र सञ्चालन गर्न आज लिखित सम्झौता भएपछि जिल्लामै सवारी परीक्षा हुने भएको कार्यालयका प्रमुख अनोज घिमिरेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“ आज इजी वे सवारी सेन्टर प्रालिसँग दुई पाङ्ग्रे सवारी साधनको चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने सम्झौता गरेका छौँ, अब भक्तपुर र पूर्वका बासिन्दालाई सहज हुन्छ ।”

कार्यालयले आफ्नै सवारी केन्द्र निर्माण नगरेसम्म सोही सवारी केन्द्रमा सो परीक्षा हुने भएको छ । गत माघ २ गते भक्तपुरको जगातीमा कार्यालय स्थापना भएको छ महिनापछि भक्तपुरमै सवारी परीक्षा सञ्चालन हुने भएपछि यहाँका बासिन्दालाई सहज हुने भएको छ ।

आगामी वैशाख ७ गते कार्यालयले सवारी परीक्षा केन्द्र सञ्चालनका लागि बोलपत्र आह्वान गरेको थियो । भक्तपुर कार्यालयमा दैनिक ३०० भन्दा बढी सेवाग्राहीले आवेदन दिने गरे पनि सवारी परीक्षा दिने स्थानको अभावले एक सातामा दुई पांग्रेको ८५० र चार पांग्रेको २५० भन्दा बढीलाई सवारी परीक्षामा सहभागी गराउन नसकिएकामा अब यसै सातादेखि भक्तपुरमै सवारी परीक्षा सञ्चालन हुने भएपछि निकै सहज हुने कार्यालय प्रमुख घिमिरेले बताउनुभयो ।

प्रमुख घिमिरेले भन्नुभयो, “यसअघि एक सातासम्म आवेदन संकलन गरेर काठमाडौँमा शनिबार एक दिन मात्रै सवारी परीक्षा हुँदा सेवाग्राहीलाई निकै समस्या परेको थियो, भक्तपुरमै सवारी परीक्षा हुने भएपछि आवश्यकता अनुसार दैनिक सवारी परीक्षा हुन्छ, अब सेवाग्राहीलाई निकै सहज हुन्छ ।”
सम्झौतानुसार इजी वे सवारी सेन्टर प्रालिले भक्तपुरका बासिन्दाको लागि भन्दै कार्यालय र सेवाग्राहीसँग कुनै शुल्क नलिई निःशुल्क सवारी केन्द्र उपलब्ध गराउने भएको छ । उक्त केन्द्र अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको र १२ रोपनी क्षेत्रफलमा फैलिएको छ । रु ४ करोडको लागतमा आवश्यक सबै पूर्वाधार पूरा गरेर केन्द्र निर्माण गरिएको प्रालिले जनाएको छ ।

 

  • 36Read This News:
  • 485712Total reads:
  • 290564Total visitors: