आदिकविको सम्मानमा ८२ वर्षिय थापाले गाए ‘आशाको दियो बालेर….’

काठमाडौँ, ३० असार २०७४ । ८२ वर्षीय गायक जगतमर्दन थापाले युवा जोश देखाउँदै प्रेमभावको ‘आशाको दियो बालेर…’ बोलको सुमधुर गीत प्रस्तुत गरेर आदिकवि भानुभक्त आचार्यलाई सिर्जनात्मक सम्मान भाव व्यक्त गर्नुभयो । उहाँले गीत प्रस्तुत गर्दै गर्दा दर्शक भावुक बन्न पुगेका थिए ।

“भानु हामी सबैका आदर्श व्यक्तित्व हुन्”, थापाले भन्नुभयो, “उहाँको जयन्ती राष्ट्रव्यापी रुपमा मनाउनुपर्छ, यसमा कुनै कञ्जुस्याइँ गर्नुहुँदैन ।” अर्का गायक गुरुदेव कामतले ‘आँशु भयो मेरो गीत….’ गाएर दर्शकलाई मन्त्रमुग्ध बनाउनुभयो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले आचार्यको २०४ औँ जन्मजयन्तीका अवसरमा विहिवार आयोजना गरेको ‘सांगीतिक सद्भाव आदानप्रदान कार्यक्रम’ मा स्रष्टाले भानु दिवस घोषणा गरी हरेक असार २९ लाई सार्वजनिक बिदा दिन सरकारसँग माग गर्नुभयो । नयाँ र पुराना पुस्ताका गायकले आफ्ना प्रस्तुतिबाट भानुलाई साहित्यिक सम्मानभाव जनाउनुभएको कार्यक्रम गायक रामहरि कपालीको बगलामुखीको भजनबाट थालनी भएको थियो ।

‘अध्यात्म रामायण’ लाई नेपाली भाषामा भावानुवाद गरी भानुले नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियतामा योगदान पुर्याएको स्मरणमा उहाँलाई समर्पित गर्दै गायिका टीका प्रसाईंले ‘मलाई उजाड बनाएर….’, जुना प्रसाईंले ‘तिमीलाई माया गर्ने भुल भयो….’ र प्राश्ना शाक्यले ‘डाँडा काँडा ढकमक ढाक्यो….’ बोलमा गीत सुनाउनुभयो । गायक विश्व नेपालीले ‘यो लामो जीवन….’ गाएर कार्यक्रमको रौनकता बढाउनुभएको थियो ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मेका आचार्यले पृथ्वीनारायण शाहले नेपालको भूगोललाई एकताबद्ध गरेपछि ‘रामायण’ मार्फत धर्म तथा संस्कृतिलाई जोडेर नेपालीको सामाजिक एकता तथा भावनात्मक एकतालाई जोड्ने काम गरेकामा प्राज्ञ शकुन्तला प्रधानले खुसी व्यक्त गर्दै करिब १५ मिनेट शास्त्रीय धुन प्रस्तुत गर्नुभयो ।

प्रतिष्ठानका उपकुलपति शम्भुजित बास्कोटाले आचार्यले संस्कृतबाट नेपाली भाषामा ‘रामायण’ अनुवाद गरी नेपाली भाषा तथा साहित्यको विकासमा ठूलो योगदान पु¥याएकाले उहाँको स्मरणमा मौलिक कार्यक्रम गरिएको बताउनुभयो ।

प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख उन्नति बोहरा शिलाले आचार्यको जन्मजयन्तीलाई राष्ट्रले विशेष कार्यक्रम गरी मनाउनुपर्ने बताउनुभयो । हिन्दू धर्मशास्त्रमा ‘रामायण’ र ‘महाभारत’लाई ठूला ग्रन्थका रुपमा लिने गरिन्छ । पिता धनञ्जय र माता धर्मावतीदेवीबाट जन्मेका आचार्यलाई स्थानीय घाँसीले कुवा खनेर समाजसेवा गर्न लागेको घटनाक्रमले ठूलो पाठ सिकाएको थियो । आदिकविका ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘वधूशिक्षा’ र ‘रामगीता’ तथा दर्जनौँ फुटकरलगायत साहित्यिक कृति प्रकाशित छन् । भानुजयन्तीकै अवसरमा बुधबार साहित्यिक दौडसमेत गरिएको थियो ।

२०४ औ भानुजयन्तीको अवसरमालैनचौरस्थित राष्ट्रकवि माधवप्रसाद घिमिरेको घरबाट ललितपुर, बखुँबहालस्थित वाङमय शताब्दीपुरुष सत्यमोहन जोशीका घरसम्म रामायण बोकेर भानुको पहिरनमा दौड गर्दै लक्ष्मण सापकोटा ।
२०४ औ भानुजयन्तीको अवसरमालैनचौरस्थित राष्ट्रकवि माधवप्रसाद घिमिरेको घरबाट ललितपुर, बखुँबहालस्थित वाङमय शताब्दीपुरुष सत्यमोहन जोशीका घरसम्म रामायण बोकेर भानुको पहिरनमा दौड गर्दै लक्ष्मण सापकोटा ।

 

  • 58Read This News:
  • 459745Total reads:
  • 269245Total visitors: