पतिको मृत्युपछि दोश्रो विवाह गरेकी शितली कामी छोराको नाममा अएको राहत आफुले पाउनुपर्ने माग

जाजरकोट, ३० असार २०७४ । यहाँको त्रिवेणी नलगाड नगरपालिका–१ की शीतली कामीले राहत नपाएको भन्दै प्रशासनमै उजुरी गरेकी छन् ।

द्वन्द्वमा ज्यान गुमाएका छोरा वीरबहादुर विकका नाममा आएको राहत सौतेनी छोरा लालबहादुरले बुझ्ने गरेको उनको गुनासो छ । वीरबहादुर भेरी नगरपालिका–१ का टिके कामीका छोरा हुन् । टिकेले शीतली र झुमादेवीलाई विवाह गरेका थिए । टिकेको मृत्युपछि शीतलीले दोस्रो विवाह गरेकी हुन् ।

राहत पाउने हक सौतेनी भाइ लालबहादुर नभई आमालाई भएको शीतलीको दाबी छ । यही विषयमा झुमादेवीका छोरा लालबहादुर र शीतलीबीच विवाद बढेको छ । जिल्ला प्रशासन कार्यालयमा राहतको दाबी गर्दै दिनहुँ यस्ता उजुरी पर्ने गरेका छन् ।

त्यस्तै, भेरी नगरपालिका–२ डिङाकी कालिका चन्दले पनि द्वन्द्वपीडित राहतका लागि धेरै प्रयत्न गरिन् तर पाउन सकेकी छैनन् । उनका भाइ सेतीरामको सशस्त्र द्वन्द्वमा ज्यान गएको थियो । सेतीरामकी दिदी कालिकाबाहेक नजिकका हकदार कोही छैनन् । तर सेतीरामका नाममा आउने राहत रकम ठूलाबुबा खम्बु चन्दले बुझ्ने गरेका छन् । उक्त राहत आफूले पाउनुपर्ने भन्दै कालिकाले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएकी छन् । सेतीरामका नाममा आएको रु पाँच लाख राहतका लागि खम्बु र कालिकाबीच विवाद चुलिएको छ ।

मृतकका नाममा आएको रु पाँच लाख राहत आफन्तबीच तानातान हुने गरेको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताउनुभयो । नजिकका हकदार कोही नहुनु, आमाबाबुको मृत्यु हुनु, नाबालकको उमेर नपुग्नु, दोस्रो बिहे गर्नुलगायत कारणले आफन्तबीच राहत तानातान हुने गरेको उहाँले बताउनुभयो ।

“कतिपय आमा तथा पत्नीले दोस्रो विवाह गर्दा उनीहरूको नाममा आउने राहतका लागि छोराछोरीले उमेर पुगेपछि विवाद गर्ने गरेका छन् । दोस्रो विवाह गर्ने आमा राहतको हकदार हुन नसक्ने भन्दै विवाद भएको छ,” उहाँले भन्नुभयो ।

काकाबाबा र दोस्रो विवाह गरेकाले पनि राहतमा दाबी गर्दा वास्तविक पीडितले राहत पाउन नसकेको शर्माले बताउनुभयो । राहतका लागि विवादित बनेका हकवालाको बैंक खाता रोक्का गरेको उहाँले बताउनुभयो ।

 

  • 237Read This News:
  • 459756Total reads:
  • 269253Total visitors: