काठमाडौँ, २३ असार २०७४ । चालु आवभित्र क वर्गका सबै वाणिज्य बैंकलाई चुक्ता पुँजी रु ८ अर्ब पुर्याउन नेपाल राष्ट्र बैंकले दिएको निर्देशनको परिपालना गर्नेमा नेपाल बैक लि दोस्रो भएको छ ।
नेपालको वित्तीय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत केही अवधि करार व्यवस्थापन र केही अवधि राष्ट्र बैकको व्यवस्थापनअन्तर्गत सञ्चालित भई दुई वर्षयता खुल्ला प्रतिस्पर्धाबाट नियुक्त प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहको नेतृत्वमा चलिरहेको सो बैँकको चुक्ता पुँजी हाल ८ अर्ब २ करोड पुगेको बैंकले जनाएको छ ।
पुरानो कर्जा असुली, सम्पत्ति बिक्रीलगायतबाट नियामक निकायद्वारा निर्धारित न्यूनतम सीमाभन्दा केही बढी चुक्ता पुँजी पुर्याउन बैंक सफल भएको हो । बैंकमा सरकारको ६२.५५ प्रतिशत स्वामित्व छ । हाल देशका १३१ शाखामार्फत सेवा पुर्याइरहेको बैकले आगामी आवमा प्रथम चरणमा आफ्ना २५ शाखाबाट स्मार्ट बैङ्किङ सेवा आरम्भ गर्ने जनाएको छ ।


