१ लाख राशिको भानु कप फुटबल प्रतियोगिता शुरु

तनहुँ, २२ असार २०७४। २०४ औँ भानु जयन्तीका अवसरमा तनहुँको भानु नगरपालिकास्थित डुम्रे भन्सार युवा परिवारद्वारा आयोजित राष्ट्रियस्तरको भानु कप फुटबल प्रतियोगिता बुधबारदेखि शुरु भएको छ ।

प्रतियोगिताको प्रमुख जिल्ला अधिकारी रितेशकुमार शाक्यले रेफ्रीलाई बल दिएर उद्घाटन गर्नुभएको थियो । प्रतियोगिताको उद्घाटन खेलमा धादिङको भद्रकाली युवा क्लबले दमौलीको हैरान्स युवा क्लबलाई २–० गोलले पराजित गरेको छ ।

भद्रकाली युवा क्लबका तर्फबाट सविन बिडारी र शैलेन्द्र तामाङले १/१ गोल गरेका थिए । भद्रकाली युवा क्लबका बिडारी म्यान अफ द म्याच घोषित भई आकर्षक पुरस्कार हात पारे । प्रतियोगितामा २० वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेतालाई रु १ लाख १ हजार १११ र उपविजेतालाई रु ५० हजार ५ सय ५५ नगद साथै मेडल ट्रफी र प्रमाण पत्र वितरण गरिने भन्सार युवा परिवारका अध्यक्ष ईश्वरकुमार श्रेष्ठले बताउनुभयो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता घोषित गरी आकर्षक पुरस्कार प्रदान गरिने छ ।

 

  • 46Read This News:
  • 481227Total reads:
  • 288615Total visitors: