२१ वर्षीया युवतीलाई सामूहिक बलात्कार गर्ने ४ युवक पक्राउ

महोत्तरी, ९ असार २०७४। महोत्तरी जिल्लाको औरही गाउँपालिका–२ मा एक युवतीलाई सामूहिक बलात्कार गरेका ४ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा औरही गाउँपालिका–२ बस्ने २२ वर्षीय सुनिल साह, २० वर्षीय अनिकेत यादव, २१ वर्षीय रमेश पञ्जियार र २० वर्षीय सुरेश यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताउनुभयो ।

गत जेठ २८ गते राति करिब ८ बजेको समयमा औरही बजारबाट फुल्बरिया गाउँतिर एक्लै जाँदै गरेकी २१ वर्षीया एक युवतीलाई औरही बजारदेखि ९०० मिटर आँपको बगैँचामा ढुकेर बसेका चारैजना युवाले रोकेर खेतमा लगी पालैपालो जबर्जस्ती करणी गरेको प्रहरी उपरीक्षक लम्सालले बताउनुभयो ।

सामूहिक बलात्कारमा संलग्न युवा सुनिल साहलाई प्रहरीले घटनाकै राति करिब १० बजे समातेको थियो भने अन्य ३ जना युवा फरार रहँदै आएकामा बिहीबार उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक लम्सालले बताउनुभयो । सामूहिक बलात्कारमा संलग्न चारैजना युवालाई महोत्तरी जिल्ला अदालतबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखी जबरजस्ती करणी मुद्दा चलाई आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक लम्सालले बताउनुभयो ।

घटना घटेलगत्तै प्रहरीले उद्धार गरेको पीडित युवतीलाई स्वास्थ्य उपचार गराई अभिभावकको जिम्मा लगाइएको र उनको अवस्था ठीक रहेको प्रहरीले जनाएको छ ।

 

  • 103Read This News:
  • 459250Total reads:
  • 268774Total visitors: