बैतडी, १२ जेठ २०७४। दार्चुलाको शैल्यशिखर नगरपालिका–१ शिखरमा निर्माणाधीन ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाकोे मेसिन तथा उपकरणको परीक्षण ‘ड्राइटेस्ट’को काम चाँडै सुरु गरिने भएको छ ।
जलाशय परीक्षणको काम सकिएकाले आजदेखि मुख्य क्षेत्रमा रहेका उपकरण ड्राइटेस्टको काम सुरु गरिने चमेलिया जलविद्युत् आयोजना प्रमुख अजयकुमार दाहालले बताउनुभयो ।
दक्षिण कोरियाका “प्राविधिक टोलीले जडान गरिएका उपकरणले सही ढङ्गले काम गरेको छ कि छैन भनी परीक्षण गर्नेछ,” उहाँले भन्नुभयो ।
यसअघि जेठ पहिलो साता काम सुरु गर्ने भने पनि दक्षिण कोरियाबाट प्राविधिक टोली आउन ढिलाइ भएपछि परीक्षणको काममा ढिलाई भएको हो । मुख्य क्षेत्रका उपकरणबाहेकका अन्य क्षेत्रमा ड्राइटेस्टको काम सुरु भइसकेको दाहालले बताउनुभयो । उहाँले भन्नुभयो – “ब्रेकरलगायतका उपकरणको ड्राइटेस्ट भए पनि मेन टर्बाइन ड्राइटेस्टको काम कोरियाली प्राविधिक आइसकेपछि मात्रै हुन्छ ।”
ड्राइटेस्टको कामबाहेक अहिले आयोेजनाको ड्याममा पानी भर्ने, सुरुङ भेरिएसनका लागि खनिएका सहायक सुरुङहरु पुर्ने काम, मुख्य सुुरुङको सफाइलगायत प्रसारण लाइनदेखि दायाँ बायाँ ९÷९ मिटर गरी १८ मिटरसम्मका रुख काट्ने काम भइरहेको छ । करिब चार वर्षअघि निर्माण सम्पन्न भएको प्रसारण लाइनमा हावाहुरीका कारण रुख ढलेर क्षति पुर्याएको थियो ।
“आयोजना असार मसान्तसम्म केन्द्रिय प्रसारणमा जोडने छ ” दाहालले भन्नुभयो । नेपाल विद्युत् प्राधिकरण, राष्ट्रिय योजना आयोग र ऊर्जा मन्त्रालयले आयोजनाको काम समयमै सक्न निर्देशन दिएको छ ।
आगामी पुसमा आयोजना सम्पन्न गर्ने लक्ष्य भए पनि निर्माण कार्यले तीव्रता पाएपछि आयोजनाका सबै काम कात्तिक मसान्तसम्ममा सकेर उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने आयोजना प्रमुख दाहालले बताउनुभयो ।
सिभिलतर्फको काम गरिरहेको ठेकेदार कम्पनी चाइना गेजुुवा ग्रुप अफ कम्पनिज् (सिजिजिसी)लाई एक महिना चाँडै गरेर सेप्टेम्बर अघि नै काम सक्न आग्रह गरिएको दाहालको भनाइ छ । आयोजनामा आर्थिक विकास साझेदारी कोष (इडिसिएफ) मार्फत नेपाल सरकार र दक्षिण कोरिया सरकारको संयुक्त लगानी रहेको छ ।
विसं २०६३ पुसमा आयोजनाको सिभिलतर्फको सबै काम चिनियाँ कम्पनी सिजिजिसीलाई दिइएको थियो । आयोजनाको निर्माण कार्यमा ढिलाइ, भौगोलिक रुपमा टाढा रहेको, बैतडी र दार्चुलामा प्रसारण लाइन विस्तार गर्दा लागत खर्च बढेको दाहाल बताउनुहुन्छ ।
रु ८ अर्ब ५० करोडको लगानीमा बन्न लागेको चमेलिया जलविद्युत् आयोजना निर्माण कार्य आगामी वर्षको पुसमा सकिने छ । विसं २०६८ सम्म निर्माण गरिसक्ने लक्ष्य लिएपनि सुरुङ खुम्चिएकाले लक्ष्यभन्दा पाँच वर्षपछि मात्रै निर्माण सम्पन्न हुन लागेको हो ।
गत वर्ष मङ्सिरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माघ महिनामा ऊर्जा मन्त्री जनार्दन शर्माले चमेलियाको स्थलगत निरीक्षण गर्दै चमेलिया जलविद्युत् आयोजनाको काम छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको थियो ।


