करिव ३ करोडको लागतमा उदयपुर सिमेन्ट उद्योग प्रदूषणरहित बनाइँदै

उदयपुर, १२ जेठ २०७४ । नेपालकै सबैभन्दा ठूलो र सरकारी स्वामित्वमा रहेको उदयपुर जिल्लाको जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योग अब धुलो, धुवाँ र प्रदूषणरहित बनाइने भएको छ ।

उद्योग प्रशासनका अनुसार उद्योगमा धुलो तथा धुवाँ नियन्त्रण गर्ने मेसिन जडान गर्न लागिएका कारण अब उद्योगबाट निस्कने सम्पूर्ण धुवाँ र धुलो नियन्त्रण हुने र उद्योग प्रदूषणरहित हुन लागेको कुरा बताएको छ ।

भारतबाट उद्योगमा प्रदूषण नियन्त्रण गर्ने उपकरण झन्डै रु ३ करोडमा खरिद गरेर ल्याउने तयारी भइरहेका कारण अब एक दुई महिनाभित्र नै उदयपुर सिमेन्ट उद्योग धुँवा धुलो मुक्तहुने उद्योगका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल बताए ।

उद्योगले हाल प्रतिघन्टा २ टन धुलो र धुवाँ फाल्ने गरेकाले उद्योग र यसका क्षेत्र वरपरसमेत प्रदूषण बढ्दै गइरहेका कारण पनि अब मेसिन जडान गरेर उद्योगबाट हुने प्रदूषण शून्यमा झार्ने योजनाका साथ कार्य भइरहेको पनि उद्योगका महाप्रबन्धक पौडेल बताउनुहुन्छ ।

धुलो र धुवाँ दुवै नियन्त्रण गर्नका लागि इलेक्ट्रो स्टारिक पावर (इएसपी) मेसिन जडान गर्ने कार्य हुन लागेका कारण उद्योगमा प्रदूषण शून्यमा झर्ने दाबी पनि उद्योग प्रशासनको रहेको छ ।

उद्योग स्थापना भएयता अहिले उद्योगको क्षमताअनुसार दैनिक ८०० मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता बढाइएका कारण पनि अब उद्योण क्षेत्रमा प्रदूषण र धुलो वृद्धि हुँदै गइरहेकाले नियन्त्रण गर्न मेसिन जडान गर्नु अनिवार्य भएको समेत उद्योग प्रशासनले बताएको छ ।

स्मरण रहोस्, वातावरणविद्हरुका अनुसार उदयपुर सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन गर्ने कार्यमा धुवाँ तथा धुलोसमेत उत्पादन भई उदयपुरको जलजले र त्रियुगा नगरपालिका क्षेत्रमा वातावरण प्रदूषण हुँदै आएको छ ।

 

  • 30Read This News:
  • 441721Total reads:
  • 253589Total visitors: