तेह्रथुम, ३ जेठ २०७४ । तेह्रथुम–युके समाजले आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारका अग्निपीडितलाई रु १५ लाख राहत वितरण गरेको छ । समाजले तेह्रथुममा जन्मिएर हाल बेलायत (युके) मा कार्यरतबाट सङ्कलन गरेको राहत रु १५ लाख ४८ अग्निपीडित परिवारलाई वितरण गरेको हो ।
आगलागीबाट घर पसल जलेकालाई प्रतिपरिवार रु ६० हजार, घरमात्र जलेकालाई प्रतिपरिवार रु ५० हजार, एकै परिवारका २ वटा घर भएकालाई रु ७५ हजार, ‘क’ वर्गका व्यवसायीलाई प्रतिपरिवार रु ४० हजार, ‘ख’ वर्गका व्यवसायीलाई प्रतिपरिवार रु २० हजार, ‘ग’ वर्गका व्यवसायीलाई प्रतिपरिवार रु १५ हजार र ‘घ’ वर्गका व्यवसायीलाई प्रतिपरिवार रु ५ हजारका दरले राहत रकम प्रदान गरिएको समाजका प्रतिनिधि ताराप्रसाद लिम्बूले जानकारी दिनुभयो ।
राहत वितरण कार्यक्रममा तेह्रथुम–युके समाजका ताराप्रसाद लिम्बू, सुनसरी–युके समाजका मोहनचन्द्र लिम्बू, आठराई भगवती यातायात व्यवसायी सङ्घका महासचिव महेन्द्र विमलीलगायतले मन्तव्य राखेका थिए । अग्निपीडितले युकेवासी नेपालीलाई धन्यवाद भनेका छन् । गत पुस १ गते सक्रान्तिबजारमा आगलागी हुँदा २९ घर र ३ टहरामा क्षति पुगेको थियो ।
आगलागीबाट ७३ परिवार विस्थापित हुँदा रु १४ करोडभन्दा बढीको क्षति भएको थियो । अग्निपीडितका लागि राहत कोषमा हालसम्म रु ६० लाख जम्मा भएको छ । तर प्रशासनले बनाएको मापदण्डमा पीडितले राहत बुझ्न नमानेपछि राहतको रकम कोषमै थन्किएको छ ।


