बेलायती राजकुमार फिलिपद्वारा आगामी अगस्टदेखि राजकीय जिम्मेवारीबाट बिदा लिने

बेलायत, २२ वैशाख २०७४। बेलायती महारानी एजिलावेथ द्वितीयका श्रीमान् ड्युक अफ एडिनबरा, राजकुमार फिलिपले आगामी अगस्टदेखि सार्वजनिक जिम्मेवारी बहन नगर्ने वकिङघम राजदरबारले घोषणा गरेको छ ।

राजदरबारबाट बिहीबार जारी एक वक्तव्यमा भनिएको छ, “९५ वर्षीय फिलिपले जिम्मेवारी बहन नगर्ने निर्णय आफ्नो इच्छाले गर्नुभएको छ भने यसमा महारानी एलिजावेथको पूर्ण समर्थन रहेको छ ।”

ड्युक अफ एडिनबराले अब नयाँ जिम्मेवारी नलिए पनि यसअघि तय भएका कार्यक्रममा भने सरिक रहनु हुनेछ । उहाँलाई अगस्ट उप्रान्त आउने औपचारिक कार्यक्रममा भने ड्युकका रुपमा जिम्मेवारी स्वीकार्नु हुने छैन ।

राजकुमार फिलिप अर्को महिनादेखि ९६ वर्षमा प्रवेश गर्नुहुनेछ । सन् १९४७ मा बेलायती महारानी एलिजावेथसँग वैवाहिक जीवनमा गाँसिएपछि ग्रीक राजकीय परिवारका निर्वासनमा रहेका सदस्य फिलिपको सयौँ बेलायती सङ्घसंस्थामा आवद्धता रहेको छ ।

निर्णय सार्वजनिक भएपछि प्रतिक्रिया जनाउँदै बेलायती प्रधानमन्त्री थेरेसा मेले ड्युक फिलिपको दशकौँ लामो सेवाप्रति आभार प्रकट गर्नुभएको छ ।

उहाँको निरन्तरको बेलायती सङ्घसंस्थामा रहेको संरक्षकत्व तथा राजकीय काममा महारानी एजिलावेथलाई मिलेको सहयोगको बेलायती जनता, बेलायत र समग्र विश्व आगामी दिनमा समेत ऋणी हुनेछ, प्रधानमन्त्री मेले भन्नुभयो ।

बेलायतको दरबार स्रोतले फिलिपले नयाँ सार्वजनिक कामको जिम्मेवारी नसम्हाल्ने घोषणा गर्नु भए पनि महारानीले भने आफ्नो सेवालाई निरन्तरता दिनुहुने बताइएको छ ।

 

  • 43Read This News:
  • 510127Total reads:
  • 313395Total visitors: