अफगानिस्तान, २२ बैशाख २०७४ । अफगानिस्तानको हिज्ब–ए–इस्लामी पार्टीप्रमुख गुल्बुद्दिन हिक्मतियार निर्बासनबाट चाँडै नै स्वदेश फर्कने भएका छन् ।
राष्ट्रपति कार्यालयले एक विज्ञप्ति प्रकाशन गरी जनाए अनुसार अफगानिस्तानमा सशस्त्र बिद्रोह गरी सरकार बिरुद्ध चरम सङ्घर्ष गरेका कारण प्रतिबन्ध लागेपछि देश छाडी निर्वासन पलायन भएका हिक्मतियार दशकौं पछि पुनः फर्कने भएका हुन् ।
तत्कालिन समयमा काबुलमा हिंसा, हत्या, तोडफोड तथा बिध्वंश मच्चाउँदै समाजमा चरम अशान्ति फैलाउने हज्ब–ए–इस्लामी पार्टी र त्यसको प्रमुख हिक्मतियारलाई बहूसंख्यक अफगानिस्तानी जनताले काबुलका कसाही (बचर अफ काबुल भनी घृणा गर्ने गर्थे ।
सन् १९९० को दशकमा स्थापना भएको यस हज्ब–ए–इस्लामी पार्टीले सन् २००१ को अन्ततिर तालिबानी शासनको पतनपश्चात् आफ्ना गतिबिधि तीब्र पार्दैै अमेरिकी नेतृत्वको संयुक्त सरकारी फौजसँग पनि जोरी खोज्दै सर्वसाधारण अफगानिस्तानी जनताउपर आक्रमण गरी समाजमा अनिश्चित भय र त्रास फैलाउने गरेको थियो ।
सन् २०१६ को सेप्टेम्बरमा अफगानिस्तानी सरकार र पार्टीप्रमुख हिक्मतियारबीच एक शान्ति सम्झौतामा हस्ताक्षर सम्पन्न भए अनुरुप शान्तिपूर्वक मुलुकको राष्ट्रिय राजनीतिमा समाहित भई शान्ति स्थापना कार्यमा सक्रिय रुपमा सरिक हुन हिक्मतियार स्वदेश फर्कन लागेका बताइएको छ ।
उनको पुनर्गृहप्रबेशको अवसरमा अफगानिस्तानी राष्ट्रपति स्वयंले स्वागत मन्तब्य ब्यक्त गर्नु हुने कार्यक्रम रहेको पनि राष्ट्रपति कार्यालयको उक्त बिज्ञप्तिमा जनाइएको छ ।
अफगानिस्तान सरकार र हिक्मतियारबीच हस्ताक्षर सम्पन्न शान्ति सम्झौता र उनको स्वदेश फिर्तीको बिषयमा काबुलका जनतामाझ मिश्रित प्रतिक्रिया रहेको पाइन्छ ।
मुलुकमा शान्ति स्थापनार्थ राष्ट्रपति मोहम्मद असरफ घानिको साहसिक प्रयास भनी यसलाई धेरैले प्रशंसा गरेका छन् भने राष्ट्रघाती, देशद्रोही र हजारौं जनताको हत्यारा हिक्मतियारलाई खुरुक्क फाँसीमा नझुण्ड्याएर राष्ट्रपतिले यो के स्वाङ्ग रच्न लागेका हुन् भनी आक्रोश पोख्नेहरुको सङ्ख्या पनि कम छैन ।


