पर्सा, २० वैशाख २०७४ । बैंकबाट झिकिएको रु ४ लाख लुट्ने एक भारतीय युवकलाई मङ्गलबार पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगन्जको आदर्शनगर चोकस्थित सिटिजन्स बैंकबाट झिकिएको रुपैयाँ खोसी भाग्ने क्रममा प्रहरीले भारत विहार जलपाई थान, राजगन्ज ग्राम पञ्चायत आश्रमपुर गाउँ निवासी २० वर्षीय अमिर ग्वालालाई पक्राउ गरेको हो ।
बाराको कलैया उपमहानगरपालिका–१६ धर्मनगर निवासी जटाशङ्कर साहले दिउँसो सिटिजन्स बैंकको आप्mनो खाताबाट झिकेको रु ४ लाखलाई ग्वालले खोसी भाग्न लाग्दा काममा खटिएको प्रहरी टोलीले रङ्गेहात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।
उहाँले घरायसी कामलाई रकम झिकी बैंकबाट निस्किन लागेका साहलाई धक्का हानी रकम लुटेर भाग्न खोज्दा प्रहरीले ग्वालालाई लखेटर पक्राउ गरेको बताउनुभयो ।
पक्राउ परेका भारतीय नागरिक ग्वालालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । भारतीय नागरिक ग्वालामाथि लुटपाट मुद्दा चलाउने तयारीमा प्रहरी रहेको प्रवक्ता जोशीले जानकारी दिनुभयो ।


