माउन्ट एभरेस्ट ग्रुपद्वारा पर्यटन क्षेत्रमा लगानी, ५ हजार जनालाई रोजगारी दिने लक्ष्य

काठमाडौँ, १९ वैशाख २०७४ । विभिन्न देशमा व्यवसाय सञ्चालन गरिरहेका नेपालीको सक्रियतामा स्थापना गरिएको माउन्ट एभरेस्ट ग्रुपले स्वदेशमा पर्यटन क्षेत्रमा लगानी सुरु गरेको छ ।

दिगो पर्यटन विकासको कार्यसूची मुलुकको पहिलो सशक्त बहुराष्ट्रिय कम्पनी बन्ने उद्देश्यले नेपालमै केन्द्रीय कार्यालय खोलेर ‘एमई ट्राभल एन्ड टुर्स’ स्थापना गरी कारोबार सुरु गरेको छ ।

अन्तर्राष्ट्रियरुपमा छरिएर बसेका गैरआवासीय नेपालीले विदेशमा बसेर सिकेको सेवा, सीप, कला, साहित्य तथा आर्जन गरेको रकमलाई स्वदेशमा लगाउने उद्देश्यले संस्था स्थापना गरिएको हो ।

लाजिम्पाटबाट सञ्चालित उक्त ट्राभल एन्ड टुर्सले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सेवाग्राहीलाई अधिकतम सुविधा उपलब्ध गराउने रणनीति लिएको छ । अहिले एसियाका केही मुलुकका साथै युरोप, संयुक्त राज्य अमेरिका, क्यानाडा, अस्ट्रेलियालगायत मुलुकमा कम्पनीको विस्तार गरिने संस्थाका अध्यक्ष कमलराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँ लामो समयदेखि फ्रान्समा बसोबास गरी सफल उद्यमीका रुपमा स्थापित हुनुहुन्छ । संस्थाले निर्धारण गरेको मापदण्डका आधारमा सेवाग्राहीलाई मुलुकका विभिन्न स्थानको भ्रमणका लागि आवश्यक स्थानको उचित र यथार्थ सूचना, होटल बुकिङ, भ्रमणका आकर्षक प्याकेज, पर्यटकको सुरक्षाको व्यवस्थापनका साथै उनीहरुलाई आवश्यक सवारीसाधनको समेत प्रबन्ध गर्ने संस्थाले जनाएको छ ।

विभिन्न ४२ देशमा रहेका गैरआवासीय नेपालीको उक्त संस्थामा लगानी रहेको छ । आगामी दिनमा संस्थाले कृषि, शिक्षा, बजार व्यवस्थापनलगायतका क्षेत्रमा ‘एमई हस्पिटालिटी’, ‘एमई एजुकेसनल इन्स्टिच्युसन’, ‘एमई सुपर मार्केट’ र ‘एमई एग्रो’का नामबाट लगानी गर्दै लैजाने योजना रहेको संस्थाका नेपालस्थित निर्देशक युवराज पराजुलीले बताउनुभयो ।

संसारको सर्वोच्च शिखर सगरमाथाको अन्तर्राष्ट्रिय तहमा विशिष्ट पहिचान रहेकाले यसलाई माउन्ट एभरेस्टका नामबाट एमई ग्रुपले व्यवसाय सञ्चालन गरी गैरआवासीय नेपालीको सञ्जाललाई जोड्न खोजेको र स्वदेशमा लगानी भित्र्याउन खोजिएको छ ।

मुलुकमा विदेशबाट लगानी आएपछि रोजगारीका अवसर वृद्धि भई राष्ट्रिय अर्थतन्त्रमा समेत टेवा पुग्ने विश्वास गरिएको छ । नेपालमा राजनीतिक स्थिरता कायम भई शान्ति स्थापना हुने र तोकिएको समयमा निर्वाचन हुँदै जाने हो भने लगानीका लागि अझै राम्रो वातावरण बन्दै जाने बताइएको छ ।

युवा उद्यमी देवेन्द्र गौतमले मुलुकमा बढदै गएको बेरोजगारीका कारण युवा जनशक्ति विदेसिन बाध्य भइरहेको बेलामा गैरआवासीय नेपालीले योजनाबद्ध ढङ्गले वस्तु उत्पादन तथा सेवाको क्षेत्रमा गर्न लागेको लगानीले मुलुकलाई समृद्ध बनाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । कम्पनीले विसं २०८२ सम्ममा करिब ५ हजार जनालाई रोजगारी दिने लक्ष्य राखेको छ ।

 

  • 32Read This News:
  • 448477Total reads:
  • 259953Total visitors: