विश्व मजदुर दिवसमा एकताको सूत्रमा बाँध्न सहयोग गर्ने राष्ट्रपतिद्वारा विश्वास व्यक्त

काठमाडौँ, १८ वैशाख २०७४ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पसिना बगाएर, श्रम गरेर मिहिनेतको कमाइ खाने सम्पूर्ण श्रमजीविलाई विश्व मजदुर दिवसले आफ्नो हक, अधिकार र स्वतन्त्रतालाई सामूहिक रुपमा बुलन्द गरी विश्वभरीका श्रमजीविलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रत्येक बर्ष मे १ का दिन मनाइने विश्व मजदुर दिवसका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति भण्डारीले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने श्रमिक वर्गको उच्च योगदानको सम्मान गर्दै मुलुकमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक प्रावधानले मूर्तरुप लिँदैजाने सन्दर्भमा श्रमिक वर्ग लाभान्वित हुने अपेक्षा गर्दछु भन्नुभएको छ ।

लोकतान्त्रिक व्यवस्थामा सबै अटाउने, सबैको अधिकार सुनिश्चित हुने भएकाले सबै नेपाली श्रमिकले स्वदेश तथा विदेशमा श्रम गर्दा र पसिना बगाउँदा अनुकूल श्रम वातावरण, न्यायोचित कार्य घण्टा एवम् पारिश्रमिक, सामाजिक सुरक्षा लगायतका सबै श्रम अधिकार सुनिश्चित भई उपयुक्त औद्योगिक सम्बन्ध स्थापित हुन सकोस् भन्ने समेत राष्ट्रपति भण्डारीले कामना गर्नुभएको छ ।

मई दिवसका अवसरमा उहाँले सम्पूर्ण नेपाली श्रमिक तथा मजदुरले आफ्नो हक–अधिकारको पूर्ण, जीवनोपयोगी र सार्थकरुपमा प्रयोग गर्न सकुन् भन्ने शुभकामना पनि व्यक्त गर्नुभएको छ ।

 

  • 39Read This News:
  • 448430Total reads:
  • 259912Total visitors: