इन्डोनेसियामा बाढीका कारण १० जनाको मृत्यु, २ जना बेपत्ता

इन्डोनेसिया, १८ वैशाख २०७४। इन्डोनेसियाको पश्चिमी क्षेत्रको जाभा प्रान्तमा भिषण वर्षापछि आएको बाढीमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएको यहाँको विपद् व्यवस्थापन निकायले आइतबार जनाएको छ ।

वर्षाका कारण जाभा क्षेत्रका केही गाउँमा बाढी आउँदा १० जनाको मृत्यु भएको छ भने ७१ घर बाढीले बगाएको छ । सो क्षेत्रका बाढीको जोखिममा रहेका सयौं स्थानीयलाई सुरक्षित स्थलतर्फ सारिएको संस्थाका प्रवक्ताले बताउनुभयो ।

बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि एक हजार ५०० सेना, प्रहरी र स्थानीय अधिकारी परिचालन गरिएको उहाँले बताउनुभयो ।

यसैगरी सोही प्रान्तमा आइतबार भएको एक सडक दुर्घटनामा परी कम्तीमा ११ जना नागरिकको मृत्यु भएको छ । घटनामा ४७ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

जकार्ताबाट सियानजुरतर्फ गइरहेको बसले एक कार र केही मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुःखद घटना भएको थियो ।

 

  • 101Read This News:
  • 452775Total reads:
  • 264013Total visitors: