टर्की प्रशासनद्वारा विकिपिडियाको पहुँचमा प्रतिबन्ध

टर्की, १७ वैशाख २०७४। टर्कीले विकिपिडियाको अनलाइन विश्वकोष प्रयोगमा स्थानीय समयअनुसार शनिबार बिहान ८ बजेदेखि प्रतिबन्ध लगाएको यहाँको दूरसञ्चारको नियमनकारी संस्थाले शनिबार जनाएको छ ।

टर्कीले राष्ट्रिय सुरक्षा एवम् राज्य विरोधी गतिविधिमा प्रयोग भएको कुनै पनि वेबसाइटमाथि प्रतिबन्ध लगाउन सकिने कानुनी प्रावधान भएअनुसार विकिपिडिया टर्कीको हितमा नभएको भन्दै विकिपिडिया अनलाइन विश्वकोषमाथि प्रतिबन्ध लगाइएको हो ।

टर्कीको यस निर्णय यहाँका मानवअधिकारकर्मी तथा पश्चिमी गठबन्धनका लागि विशेष चासोको विषय हुन सक्ने विकिपिडियामाथिको प्रतिबन्धपछि विज्ञहरु बताउँछन् ।

यहाँका मानवअधिकारवादी सङ्गठन तथा टर्कीको पश्चिमा गठबन्धन राष्ट्रहरुले सन् २०१६ को जुन १५ मा भएको असफल राज्य विद्रोहपछि टर्की प्रशासनले नागरिकको वैयक्तिक स्वतन्त्रता तथा अन्य आधारभूत मानवअधिकारसम्बन्धी प्रावधानमा धेरै कटौती गरेको जनाएँदै आएका छन् ।

प्राविधिक मूल्याङ्कन र कानुनी विवेचनापछि विकिपिडियाको अनलाइन सेवाविरुद्ध प्रशासनले पछिल्लो कदम लिएको विटिके दूरसञ्चार प्रदायक संस्थाले आफ्नो वेबसाइटमा प्रकाशित एक विज्ञप्तिमा जनाएको छ ।

विकिपिडियाविरुद्ध लगाइएको प्रतिबन्ध कार्यान्वयनमा लान टर्कीको कानुनअनुसार विटिकेले गरेको निर्णय २४ घन्टाभित्र अदालतमा पेस गर्नेछ । अदालतले निर्णय उपयुक्त छ वा छैन भनी दुई दिनभित्र जवाफ दिनेछ । यदि अदालतबाट राष्ट्रिय हित विपरीत प्रयोग भएको भनी राय आएमा विकिपिडियाविरुद्ध लगाइएको प्रतिबन्ध कार्यान्वयन हुनेछ ।

 

  • 77Read This News:
  • 509294Total reads:
  • 312572Total visitors: