फलाम खानी उत्खनन गर्न सरकार तयारः मन्त्री जोशी

नवलपरासी, ३१ चैत २०७३ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले नवलपरासीको धौवादीमा रहेको फलाम खानीको उत्खनन कार्य अगाडी बढाउन सरकार लागिपरेको बताउनुभएको छ ।

बुधवार खानी क्षेत्रको स्थलगत निरीक्षणका लागि विकट पहाडी हुप्सेकोट गाउँपालिका धौवादी पुग्नुभएका मन्त्री जोशीले निरीक्षणपछि मन्त्री जोशीले एक वर्षभित्रै फलाम खानी उत्खनन गर्ने बताउनुभयो ।

उहाँले सरकार र निजी क्षेत्रलाई समेत हातेमालो गरी छिटोभन्दा छिटो उत्खनन कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस क्षेत्रमा ३० करोड टनभन्दा बढी फलामको सम्भावना भेटिएको अध्ययनमा सहभागी भूगर्भविद् नारायण बास्कोटाले जानकारी दिनुभयो । अध्ययनका क्रममा यस क्षेत्रमा २८ प्रतिशतदेखि ५८ प्रतिशतसम्म फलामको मात्रा भेटिएको छ ।

करिब १० किलोमिटर क्षेत्रमा फैलिएको खानीलाई ५ वटा क्षेत्रमा विभाजन गरी ५ स्थानमा उत्खनन गरिने छ । खानी उत्खनन भएमा नेपाल ३० वर्षसम्म फलाममा आत्मनिर्भर बन्नेछ । नेपालकै सबैभन्दा ठूलो फलाम खानी भेटिएको यस क्षेत्रमा खानी तथा भूगर्भ विभागले एक वर्षदेखि लगातार अनुसन्धान गरिरहेको छ ।

 

  • 34Read This News:
  • 450695Total reads:
  • 262027Total visitors: