राष्ट्रिय एकताको नयाँ प्रस्ताव दर्ता हुन्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, २६ चैत २०७३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस केन्द्रित तथा प्रमुख प्रतिपक्षी दललाई मान्य हुने गरी राष्ट्रिय एकताको संविधान संशोधनको नयाँ प्रस्ताव सदनमा दर्ता गर्ने बताउनुभएको छ ।

रिपोटर्स क्लब नेपालको १९ औँ वार्षिकोत्सवलाई आज यहाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो, “सबैलाई मान्य हुने गरी राष्ट्रिय एकताको संशोधन प्रस्ताव दर्ता हुन्छ, यसले मुलुकलाई एकताबद्ध गर्नेछ ।”

प्रधानमन्त्री प्रचण्डले यो प्रस्तावले मधेस, पहाड र हिमाल सबै एकै पटक स्थानीय तहको निर्वाचनमा खुशीसाथ जाने वातावरण बन्ने विश्वास व्यक्त गर्दै निर्वाचनको सङ्कल्पमा राष्ट्र अगाडी बढिसकेकाले यसमा कुनै शङ्का नगर्न आग्रह गर्नुभयो ।

स्थानीय तहको निर्वाचनले संविधानलाई गतिशील बनाउनका लागि आवश्यक पर्ने अन्य दुई निर्वाचन एकै पटक मङ्सिरमा बन्ने आधार तयार गर्ने बताउँदै उहाँले स्थानीय सरकार बनेपछि विकासको गति अगाडि बढ्ने स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले सही व्यक्तिलाई सही जिम्मेवारी दिएर अगाडि बढेको अवस्थामा मुलुकको आर्थिक समृद्धि गर्न सकिन्छ भन्दै विद्युत्भार कटौती र सही व्यवस्थापनबाट मुलुकको आर्थिक वृद्धि छ प्रतिशत पुग्ने देखिएको बताउनुभयो ।

दुई छिमेकी मुलुकसँग असल सम्बन्ध कायम गरेर नेपालको विकास गर्न सकिन्छ भन्ने विश्वास आफूमा बढेको बताउँदै उहाँले राष्ट्रिय एकताको अभियानमा सहयोग गर्न सबैमा आह्वान गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधानको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन अनिवार्य भएको बताउँदै यस अभियानमा सहभागी हुन सबैलाई आग्रह गर्नुभयो ।

संविधान कार्यान्वयनका लागि तोकिएको समयमा तीन वटै तहको निर्वाचन सकाउनुपर्ने बताउँदै उहाँले राजनीतिक स्थिरतापछि कृषि र पर्यटन क्षेत्रको विकास गरेर समृद्धिको बाटोमा अघि बढ्न सकिनेमा जोड दिनुभयो ।

नेपालका लागि भारतीय राजदूत मन्जीपसिंह पुरीले आर्थिक विकास र समृद्धिको बाटोमा नेपाल अगाडि बढेको उल्लेख गर्दै आगामी दिनमा यसले गति लिने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले रिपोर्टर्स क्लब नेपालको अनलाइन संस्करणको सुरुवात पनि गर्नुभयो ।

 

  • 47Read This News:
  • 484059Total reads:
  • 289590Total visitors: