मोरङ, ६ चैत २०७३ । स्थानीय तहको निर्वाचनका लागि मोरङमा ३०६ मतदानस्थल कायम गरिने भएको छ ।
पूर्व क्षेत्रीय निर्वाचन कार्यालय, विराटनगरका प्रमुख भक्तबहादुर भट्टराईका अनुसार दोस्रो संविधानसभाको चुनावमा २७० मतदानस्थल थिए ।
४५ निर्वाचनस्थल थप्न केन्द्रमा सिफारिस गरेको भट्टराईको भनाइ छ । उहाँका अनुसार सुनवर्षी र सुन्दरहरैचा नगरपालिका ५/५ केराबारी गाउँपालिका ५, त्यस्तै धनपाल गाउँपालिका ४, उर्लाबारी नगरपालिका र बूढीगङ्गा गाउँपालिका २/२ जहदा र कटहरी गाउँपालिका ३/३, ग्रामथान र कानेपोखरी गाउँपालिका १/१ त्यस्तै रतुवामाई नगरपालिका ३, बेलबारी नगरपालिका ४, लेटाङ भोगटेनी नगरपालिका ३, रङ्गेली नगरपालिका २, पथरी शनिश्चरे १, मिक्लाजुङ गाउँपालिकामा १ मतदानस्थल थपिने क्षेत्रीय निर्वाचन कार्यालय, विराटनगरका प्रमुख भट्टराईले जानकारी दिनुभयो ।
मोरङमा नौवटा संसदीय निर्वाचन क्षेत्र रहेको छ । स्थानीय तह निर्वाचनमा यहाँबाट ८२९ जनप्रतिनिधि निवाचित हुनेछन् । मोरङमा १ उपमहानगरपालिका, ८ नगरपालिका, ८ गाउँपालिकासहित १७ स्थानीय तह छन् ।
नगरपालिकामा प्रमुख र उपप्रमुख तथा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष निवाचित हुनेछन् । स्थानीय तहको प्रत्येक नगर र गाउँपालिकाबाट १ प्रमुख, १ उपप्रमुख तथा प्रत्येक वडाबाट १ अध्यक्ष र १ महिलासहित ४ जना सदस्य निर्वाचित हुने व्यवस्था छ ।


