काठमाडौँ, २० माघ २०७३ । सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेका बेला विभिन्न जिल्लामा दल दर्ता गराएका छन् ।
इलाममा १७ वटा पार्टीले दल दर्ता गराएका छन् । नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँशक्ति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, सङ्घीय समाजवादी फोरम नेपाल, जनप्रजातान्त्रिक पार्टी नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, खम्बुवान् राष्ट्रिय पार्टी, मधेसी जनाधिकार फोरम नेपाल लोकतान्त्रिक, मङ्गोल नेसनल अर्गनाइजेसन, नेपाल कम्युनिष्ट पार्टी माले (जनसमाजवादी), नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, युनाइटेड ग्रिन अर्गनाइजेसन, नेकपा (माक्र्सवादी लेनिनवादी), नेपाल कम्प्युनिष्ट पार्टी निर्वाचन कार्यालयमा दर्ता भएका हुन् ।
स्थानीय निर्वाचनको चर्चा चलिरहेका बेला जिल्लामा नयाँशक्ति पार्टी नेपाल, युनाइटेड ग्रिन अर्गनाइजेसन, नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी नयाँ पार्टीका रूपमा दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रेम काफ्लेले जानकारी दिनुभयो ।
यसैगरी जुम्लामा १४ वटा दलले जिल्ला निर्वाचन कार्यालय जुम्लामा विवरण अद्यावधिक गराएका छन् । नेपाल मजदुर किसान पार्टी, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), नेकपा (माले), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, सङ्घीय समाजवादी फोरम, नयाँ शक्ति पार्टी, मधेसी जनअधिकार फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, देशभक्त समाजवादी पार्टी, नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी र राष्ट्रिय जनमुक्ति पार्टी रहेको जिल्ला निर्वाचन अधिकारी सुवेदीले जानकारी दिए ।
निर्वाचन आयोगले दिएको अन्तिम मिति यही माघ १७ गतेसम्म भएको र सोही मितिको परिधिभित्र विधि प्रक्रिया पुर्याएर आएका दलको विवरण अद्यावधिक गरिएको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । सुवेदीका अनुसार जुम्लामा नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द विप्लव समूहको नेकपा माओवादी पार्टीले भने विवरण अद्यावधिक गराएका छैनन् ।
रोल्पामा ११ वटा राजनीतिक दल दर्ता भएका छन । नेपाल कम्युनिष्ट पार्टी (एमाले),सङ्घीय समाजवादी फोरम नेपाल, नेपाल परिवार दल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली काँग्रेस, नेपाल मजदुर किसान पार्टी, नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (माले), नयाँ शक्ति नेपाल पार्टी र राष्ट्रिय जनमोर्चा रहेको जिल्ला निर्वाचन अधिकारी गिरीराज ज्ञवालीले वाताए ।
दल दर्ताका लागि जिल्लामा म्याद सकिएको भएपनि पुनः निवेदन आए आयोगमा दर्ता गर्न जिल्लावाट सिफारिस गर्न सकिने बताइएको छ । जिल्लामा दर्ता रहेका ११ दलमध्ये नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी र नयाँ शक्ति नेपाल पार्टी नयाँ भएपनि अन्य ९ दल भने यसअघिको संविधान सभा निर्वाचनमा सहभागिता जनाएका दल हुन् ।
बाजुरामा ९ वटा राजनीतिक दल दर्ता भएको छ । नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा जनसमाजवादी (माले), राष्ट्रिय जनमोर्चा नेपाल, नयाँशक्ति पार्टी नेपाल, पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी रहेका छन् । जिल्लामा रहेका क्रियाशील पार्टीले विवरण बुझाएर आधिकारिक रुपमा दर्ता गरेको निमित्त जिल्ला निर्वाचन अधिकारी थापाले बताए ।


