हिम पहिरोले होटेल पुरियो, ३० जना बेपत्ता

इटाली, ७ माघ २०७३। मध्य इटालीको एउटा ४ तारे होटेल हिम पहिरोमा पुरिँदा त्यसमा रहेका दुईजना बालबालिकासहित कम्तीमा ३० जना बेपत्ता भएका छन् ।

बुधवार यहाँ तीन पटकसम्म भूकम्प गएको थियो । सोही भूकम्पका कारण विशाल हिम पहिरो गई त्यहाँका अन्य धेरै संरचनासमेत नष्ट भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

हिजोको भूकम्प पश्चात् सानातिना धक्का बारम्बार गइरहहेको हुँदा मध्य इटालीको आब्रुज्जो क्षेत्रमा अवस्थित रिगोपियानो नामक उक्त तीनतले होटलमा बस्ने पाहुनाहरूले पहिरो जाने ठूलो खतराको सम्भावना रहेको भनी हिजो बेलुकै दैवीप्रकोप नियन्त्रण सम्बद्ध अधिकारीहरूलाई इमेल, एसएमएस मार्फत् सूचना दिई सचेत गराएको एएनसीए समाचार समितिले जनाएको छ ।

हिम पहिरो गइसकेपछि तत्कालै विभिन्न कठिनाइ पार गर्दै जसोतसो घटनास्थल पुगेका उद्धारकर्मीहरूले केबल दुईजनालाई मात्र जीवितै उद्धार गर्न सकेका छन् ।

केही हप्ता पहिलेदेखि युरोपका धेरैजसो भूखण्डमा भारी हिमपातका कारण सर्वत्र हिउँ नै हिउँको थुप्रोले ढाकेकाले उद्धार कार्य अत्यन्त कठीन रहेको सम्बन्धित अधिकारीहरूको भनाइ छ ।

त्यस्तै, बाटाघाटाहरू पूरै बन्द भई दिनाले हिउँले पुरिएको उक्त होटेलसम्म पनि स्कीको सहारा लिई बल्लतल्ल पुग्न सकिएको बताइएको छ ।

सो होटेल इटालीको समुद्रतटवर्ती नगर पेस्काराबाट ४५ किलोमिटर टाढा रहेको ग्य्रान्ड सास्सो राष्ट्रिय निकुन्ज भित्र र समुद्र सतहदेखि एक हजार दुई सय मिटर (३ हजार ९ सय ४० फिट) को उचाइमा पर्छ ।

 

  • 42Read This News:
  • 557163Total reads:
  • 356619Total visitors: