राष्ट्रिय परीक्षा बोर्डमा प्राध्यापक सङ्घद्वारा तालाबन्दी

भक्तपुर, ३ पुस २०७३। राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव सूर्यप्रसाद गौतम र प्रशासन प्रमुख दुर्गाप्रसाद अर्यालको कार्यकक्षमा लोकतान्त्रिक प्राध्यापक सङ्घले आज तालाबन्दी गरेको छ ।

उच्च माध्यमिक शिक्षा परिषद् हुँदा अनुगमनमा खटाउन नियुक्त गरिएको कर्मचारी उदयकुमार कर्ण, ब्रजेशकुमार झा र स्कुल म्यापिङ्का लागि नियुक्त गरिएका नारायण पोखरेललाई बोर्डले हटाएको भन्दै तराई–मधेस लोकतान्त्रिक पार्टी निकट सङ्घले ५ बुँदे माग राखेर तालाबन्दी गरेको हो ।

सङ्घले म्याद सकिएका ३ जना कर्मचारीलाई तत्काल म्याद थप गरी काममा लगाउनुपर्ने, उनीहरुको विगत ४ महिनादेखिको तलब दिनुपर्ने, परीक्षामा पर्यवेक्षकका रुपमा खटिएका कर्मचारीको पारिश्रमिक उपलब्ध गराउनुपर्ने, प्राध्यापक सङ्घसँग विगतमा भएको सहमति कार्यान्वयन गर्नुपर्ने, बोर्डका अस्थायी, करार र ज्यालादारीका कर्मचारीलाई स्थायी गरिनुपर्ने माग राखेर तालाबन्दी गरेको सङ्घका अध्यक्ष उदय तिवारीले बताउनुभयो ।

बोर्डका सदस्य सचिव गौतमले भने नयाँ शिक्षा ऐनले तत्कालीन परिषद्लाई बोर्डमा रुपान्तरण गरेसँगै अनुगमन र म्यापिङको काम शिक्षा विभाग मातहत हुँदै आएकाले उनीहरुलाई हटाएको प्रतिक्रिया दिनुभएको छ । बोर्डलाई आवश्यकता नै नभएको कर्मचारी हटाइएको बताउँदै सदस्य सचिव गौतमले भन्नुभयो – “विगतमा यहाँबाट हुँदै आएको सम्बधन, अनुगमन, म्यापिङ्को काम अहिले शिक्षा विभागले गर्छ । पाठ्यक्रमको काम पाठ्यक्रम विकास केन्द्रले गर्छ । तालिमको काम शैक्षिक जनशक्ति विकास केन्द्रले गर्छ । अहिले बोर्ड परीक्षासम्बन्धी काम मात्रै गर्ने हो । बोर्डलाई आवश्यक नभएको कर्मचारी हटाइएको हो ।”

हटाइएका कर्मचारीलाई गत कात्तिक २४ गते नै पुस १ गतेदेखि बोर्डमा राख्न नसकिने जानकारी गराई सकिएको सन्र्दभमा तालाबन्दीको कुनै अर्थ नभएको उहाँको भनाइ छ ।

 

  • 29Read This News:
  • 459399Total reads:
  • 268912Total visitors: