पर्वतमा गोरु पाल्ने प्रचलन लोप हुँदै

पर्वत, ३ पुस २०७३। केही वर्ष अघिसम्म प्रत्येक घरमा हलगोरु पाल्ने चलन थियो । १/१ वटा गोरु पालेका २जना मिलेर परेली गर्ने, अर्मपर्म गर्ने खेतबारी जोत्ने र बालीनालीसँगै लगाउने पनि गर्दथे । पछिल्लो समय कृषिमा आधुनिक उपकरण भित्रिएसँगै यस्तो परम्परा हट्दै जान थालेको छ ।

गोरु पाल्ने झन्झटलाई आधुनिक उपकरणले विस्थापित गराउन थालेपछि अहिले गाउँघरमा खेतबारी जोत्ने गोरुसमेत लोप हुन थालेका छन् । पछिल्लो समय ‘मिनी पावर टेलर’ (यान्त्रिक हलो) भित्रिएपछि गोरु पाल्ने झन्झटबाट कृषकले मुक्तिपाएका हुन् ।

जिल्ला कृषि विकास कार्यालयले निश्चित प्रतिशत अनुदानमा यान्त्रिक हलो वितरण गर्न थालेपछि अहिले पर्वतका कृषकको आकर्षण त्यसतर्फ बढ्न थालेको हो ।

एकै दिनमा धेरै जमिन जोत्न सकिने र वर्षभरी गोरु पाल्ने झन्झट समेत नभएकाले यान्त्रिक हलोतर्फ कृषकको आकर्षण बढेको कार्यालयले जनाएको छ । विगत चार वर्षदेखि जिल्लामा यान्त्रिक हलो भित्रिएपछि यसतर्फ कृषकको आकर्षण देखिएको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिनुभयो ।

अहिले यान्त्रिक हलो माग गर्दै कार्यालयमा सयौँ कृषकले निवेदन दिएको उहाँले बताउनुभयो ।

चालु आर्थिक वर्षमा कार्यालयले ५० वटा यान्त्रिक हलो वितरण गरेको छ । कृषकको ५० प्रतिशत लागानी र कार्यालयको ५० प्रतिशत अनुदानमा ५० वटा पावरटेलर वितरण गरिएको वरिष्ठ कृषि विकास अधिकृत रेग्मीले जानकारी दिनुभयो ।

गतवर्ष २२ स्थानमा यान्त्रिक हलो वितरण गरिएको थियो । केही गाविसमा ट्याक्टरनै प्रयोग गर्ने भए पनि भिरालो जमिनमा र सडकको पहुँच नपुगेका क्षेत्रबाट पनि यसको माग आएको अधिकृत रेग्मीको भनाइ छ । एउटा मिनी पावर टेलरलाई न्युनतम रु ७० हजारदेखि रु ७५ हजासम्म मूल्य पर्छ । जस्मा कार्यालयले ५० प्रतिशत अनुदान र ढुवानी समेत निःशुल्क रुपमा गर्दै आएको छ ।

यसवर्ष वितरण गरिएकासँगै जिल्लाभर एक सय ५० को सङ्ख्यामा मिनी पावर टेलर छन् । थोरै समयमा धेरै काम गर्न सकिने र किफायती भएका कारण कृषकले यान्त्रिक हलो भित्राउन थालेका हुन् । गोरुबाट एक हल जोत्नुपरेमा दैनिक रु १५ सयसम्म खर्च हुने गरेकामा यान्त्रिक हलोले रु ५०० सयमा एक हल गोरुले दिनभरी गर्ने काम एक घन्टामै सक्ने भएकाले यान्त्रिक हलोको माग बढ्दै गएको हो ।
गाउँमा एउटा यान्त्रिक हलो भएमा ५० घरधुरीले उपयोग गर्नसक्ने भएकाले समूह मार्फत गाउँ/गाउँमा भित्र्याउने क्रम समेत बढेर गएको कार्यालयले जनाएको छ ।

एक हल गोरुको स्थानीय बजारमा रु ३० हजारदेखि रु ४५ हजारसम्म पर्ने र पाल्न समेत झन्झट हुने भएकाले गोरु पाल्नु भन्दा पावर टेलर किन्दा सस्तो र सजिलो हुने भएकाले यसतर्फ आकर्षित भएको चुवाका कृषक विष्णुप्रसाद भुवाजीले बताउनुभयो ।

जिल्लाको पाङ, खुर्कोट, चुवा, शिवालय, नाङलीवाङ, धाइरिङ, माझफाँट, भोक्सिङ, ठूलीपोखरी, हुवास, त्रिवेणी, बर्राचौर, भुकताङ्ले, पाङराङ, लगायतका गाविसमा यान्त्रिक हलो भित्रिएपछि कृषकलाई सहज भएको वरिष्ठ कृषि विकास अधिकृत रेग्मीले बताउनुभयो । अहिले बजारमा विभिन्न कम्पनीका पाँचदेखि १२ हर्ज पावरसम्मका यान्त्रिक हलो बेचबिखन भइरहेका छन् ।

 

  • 51Read This News:
  • 459141Total reads:
  • 268682Total visitors: