आज बिहान ६ बजेबाट सदरमुकाम तौलिहवा निषेधित क्षेत्र घोषणा

कपिलवस्तु, २० मङ्सिर २०७३ । स्थानीय प्रशासनले कपिलवस्तु जिल्ला सदरमुकाम तौलिहवा क्षेत्रलाई आज बिहान ६ बजेबाट निषेधित क्षेत्र तोकेको छ ।

जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् निमित्त प्रमुख जिल्ला अधिकारी भरतकुमार बुढाथोकीको अध्यक्षतामा आइतबार राति बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

स्थानीय प्रशासनले जिल्ला प्रशासन कार्यालय चोकदेखि पूर्वमा वाणिज्य बैंकसम्म, उत्तरमा कृषि विकास बैंक हुँदै महिता चोकसम्म, दक्षिणमा आन्दोलन चोकसम्म, पश्चिममा गौढी चोक हुँदै उत्तर भिच्छु चोकसम्मको क्षेत्रलाई निषेधित क्षेत्र कायम गरेको जनाएको छ ।

संविधान संशोधन प्रस्ताव दर्तापश्चात् कपिलवस्तु जिल्लाको विभिन्न स्थानमा त्यसको विरोध र समर्थनमा निस्किएको जुलुस, सभा र पुत्ला दहन जस्ता विभिन्न कार्यक्रमले गर्दा जिल्लाको शान्ति सुव्यवस्थामा खलबल हुनसक्ने अवस्था देखिएकाले यस्ता खालका क्रियाकलापलाई हुन नदिन र जिल्लाको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ क बमोजिम निषेधित क्षेत्र घोषणा गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी बुढाथोकीले बताउनुभयो ।

 

  • 64Read This News:
  • 481013Total reads:
  • 288461Total visitors: