कुवेतका अमिरद्वारा प्रधानमन्त्रीलाई मत्रिपरिषद् गठन गर्न आदेश

कुवेत, १६ मङ्सिर २०७३। कुवेतका अमिर सेख सबाह अल–अहमाद अल–सवाहले बुधबार पदमुक्त हुन लाग्नुभएका प्रधानमन्त्री सेख जबर मुबारक अल–सवाहलाई नयाँ मन्त्रिपरिषद् गठन गर्न आदेश दिनुभएको छ । कुवेतमा हालै भएको निर्वाचनमा प्रतिपक्षी दल बलियो देखिएको छ ।

सेख जबर मुबारक अल–सवाह सत्ताधारी अल–सवाह परिवारका वरिष्ठ सदस्य हुनुहुन्छ र सोमबार उहाँले संविधान अनुसार राजिनामा दिनुभएको थियो । कुवेतको संविधान अनुसार नयाँ निर्वाचन भएपछि कायम रहेको मन्त्रिपरिषद्ले राजिनामा दिनपर्छ ।

उहाँले डिसेम्बर ११ सम्म नयाँ मन्त्रिपरिषद् गठन गर्नुपर्छ । सोही दिन संसदको नयाँ अधिवेश आरम्भ हुनेछ ।

इस्लामीहरूको बाहुल्य रहेको प्रतिपक्षीले ५० स्थानयुक्त संसदका करिब आधा स्थान प्राप्त गरेका छन् र उनीहरूले तेलको राजश्व कम भएको अवस्थामा सरकारले ल्याउने मितव्ययी उपायको विरोध गर्ने बताएका छन् ।

प्रतिपक्षी सांसदहरूले निर्वाचनको नतिजा अनुसार नयाँ प्रधानमन्त्री नियुक्त हुनुपर्ने माग गरे पनि ७३ वर्षीय सेख जावरलाई पुन नियुक्ति गरिएको छ ।

कुवेतको संविधान अनुसार निर्वाचनको नतिजा जे भए पनि प्रधानमन्त्री नियुक्त गर्ने अधिकार अमिरलाई रहेको छ । कुवेती सरकार प्रणाली पश्चिमी शैलीको बहुदलीय प्रणालीसँग मिल्दैन ।

सरकारी कुना समाचार संस्थाले अमिरले पूर्व प्रधानमन्त्री तथा पूर्व सभामुख मार्जुक अल गानेमसँग परामर्शपछि शेख जाबरलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको उल्लेख गरेको छ ।
नयाँ संसदको सरकारसँग सम्बन्ध राम्रो नहुने अनुमान विश्लेषकहरूले गरेका छन् ।

 

  • 38Read This News:
  • 502673Total reads:
  • 306150Total visitors: