रोल्पामा १ लाख १६ हजार जनाको मतदाता नामावलीमा नाम दर्ता

रोल्पा, १२ मङ्सिर २०७३ । जिल्ला निर्वाचन कार्यालय रोल्पाको मतदाता नामावलीमा हालसम्म एक लाख १६ हजार ५३१ जनाले आफ्नो नाम दर्ता गराइसकेका छन् ।

विगतका वर्षदेखि २०७१/७२ असार मसान्तसम्म महिला ५६ हजार ९४७ र पुरुष ५१ हजार ३२४ गरी जम्मा एक लाख ८ हजार २७१ जनाले मतदाता नामावलीमा आफ्नो नाम समावेश गराएको तथ्याङ्कमा उल्लेख छ ।

यसैगरी आव २०७२/७३ को असार मसान्तसम्म महिला दुई हजार ६५६ जना र पुरुष चार हजार १०४ जना गरी छ हजार ७६० जनाले आफ्नो नाम दर्ता गराइसकेका छन् ।

यस्तै आव २०७३/७४ को पहिलो चौमासिकमा महिला पुरुष दुवै गरी करिब एक हजार ५०० जनाले मतदाता नामावलीमा आफ्नो नाम समावेश गराएका छन् । यसरी जिल्लामा हालसम्म मतदाता नामावलीमा आफ्नो नाम समावेश गराउनेको सङ्ख्या एक लाख १६ हजार ५३१ पुगेको जिल्ला निर्वाचन कार्यालय रोल्पाका नायब सुब्बा मानबहादुर कुँवरले जानकारी दिनुभयो ।

उहाँका अनुसार मतदाताको सहजताका लागि जिल्ला प्रशासन कार्यालय रोल्पामा डेस्क खडा गरी नामावली दर्ता गर्ने काम भइरहेको छ ।

विसं २०६८ को जनगणनाअनुसार जिल्लाको कुल जनसङ्ख्या दुई लाख २१ हजार १७७ रहेको छ ।

 

  • 40Read This News:
  • 418361Total reads:
  • 231094Total visitors: