काठमाडौँ, २६ कात्तिक २०७५ । धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा दोहोरो अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १३.०३ विन्दुले ओरोलो लागेर १,१९२.७५ विन्दुमा पुगेको छ ।
प्रतिशतका आधारमा आज पनि बजार एक प्रतिशत बढीले घटेको हो । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.६६ विन्दुले घटेर २५३.४२ विन्दुमा पुगेको छ । नेप्से मात्रै नभइ कारोवार रकममा पनि गिरावट आएको छ । कूल १३१ कम्पनीको ४ लाख ४३ हजार ३५५ कित्ता शेयर रु १३ करोड ३७ लाख ७९ हजार ७९६ मूल्यमा खरिद बिक्री भएको हो ।
स्टककाअनुसार आज कूल नौ उपसमूहको शेयर कारोवार भएकामा वित्त उपसमूहको शेयर मात्रै उकालो लागेको छ । सो उपसमूहको शेयर ०.४२ बिन्दुले बढेको हो । यस्तै बैङ्किङ १०, होटल ११.२१, विकास बैंक ७.६३, जलविद्युत् १८.७४, निर्जीवन बिमा १०१.६१, अन्य ९.२, माइक्रोफाइनान्स २२.९८ र जीवन बिमा ९१.९१ विन्दुले ओरालो लागेको छ ।
घटेको बजारमा नबिल इक्विटी फण्ड, ओरियन्टल होटल र नागबेली लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् । अपि पावर कम्पनी, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था, मिर्मिरे लघुवित्त वित्तीय संस्था र युनाइटेड इन्स्योरेन्स कम्पनीका शेयरधनीले गुमाएका छन् ।


