काठमाडौँ, २० कात्तिक २०७५ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको उपसभापतिमा पार्टी संसदीय दलको उपनेता विजयकुमार गच्छदार मनोनयन हुनुभएको छ ।
काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग पार्टी एकताका सम्बन्धमा भएको सहमतिअनुसार उहाँलाई उपसभापति पदमा मनोनयन गर्ने निर्णय गरेको हो ।
बैठकले काङ्ग्रेसको साङ्गठनिक संरचनामा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका पार्टीगत संरचना एवं भ्रातृ र शुभेच्छुक सङ्घसंस्थाको समायोजनसम्बन्धी आवश्यक कार्य गरी प्रतिवेदन पेश गर्न एक समितिसमेत गठन गरेको छ ।
सो कार्यका लागि उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा पाँच सदस्यीय समायोजन समिति गठन गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । यस समितिले केन्द्रीय कार्यसमितिको आगामी बैठकमा प्रतिवेदन पेश गर्नेछ ।
पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकले आगामी मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौँमा गर्ने भनिएको पार्टीको महासमितिको बैठक मङ्सिर २८ देखि पुस ३ गतेसम्म गर्ने निर्णय गरेको छ ।
बैठकले काङ्ग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा ३८ बमोजिम गठन हुने केन्द्रीय लेखापरीक्षण समितिको संयोजकमा पार्टीका केन्द्रीय सदस्य श्यामकुमार घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
चितवनको भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालको नाममा रहेको जग्गामा व्यापारिक मल र सभागृह बनाउने तयारी गरिएको कुराप्रति काङ्ग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अस्पतालको जग्गा कुनै पनि निकाय वा तहले अन्य प्रयोजनका लागि प्रयोग गर्ने/गराउने कार्य गलत भएको ठहर गर्दै त्यस्तो कार्य अविलम्ब रोक्न बैठकले सम्बन्धित पक्षलाई सचेत गराएको छ ।


