नेपाल–कोरियामैत्री अस्पतालको औषधि बिक्री कक्ष उद्घाटन

भक्तपुर, ३ असोज २०७५ । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालको रेडियोलोजी ब्लक निर्माणको शिलान्यास गरिएको छ । संविधान दिवसको अवसरमा नगरप्रमुख मदनसुन्दर श्रेष्ठले ब्लक निर्माणको शिलान्यास गर्नुभएको हो ।

स्वास्थ्यमा नागरिकको सहज पहुँच अभिवृद्धि गर्ने उद्देश्यले सेवा विस्तार गर्न अस्पतालले ब्लक निर्माण गर्न लागेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । अस्पतालले सहुलियत रुपमा औषधि सेवा प्रदान गर्न फार्मेसीको समेत शुभारम्भ गरेको छ ।

नगर प्रमुख श्रेष्ठले अस्पतालले सञ्चालनमा ल्याएको फार्मेसीको उद्घाटनसमेत गर्नुभयो । यसअघि निसान फार्मेसीले अस्पतालभित्र भाडामा सञ्चालन गर्दै आएकामा नागरिकलाई सहुलियत औषधि बिक्री गरी सेवा प्रदान गर्न अस्पतालले आफ्नै फार्मेसी सेवा शुरु गरेको हो ।

सो अवसरमा नगर प्रमुख श्रेष्ठले रु ४ करोडमा सुविधासम्पन्न एम्बुलेन्स र रु ७ करोडमा सिटिस्क्यान मेसिन ल्याउने प्रक्रिया शुरु भएको जानकारी दिनुभयो । अस्पतालका लागि नगरपालिकाले रु एक करोड अनुदान दिएको बताउँदै उहाँले नगरपालिकाले अनुदान र १ प्रतिशत ब्याजमा रु ७ करोड ऋण गरी कूल रु ८ करोड ५० लाख अस्पताललाई दिइने बताउनुभयो ।

नगरपालिकाका ८० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा सहभागी गराई मध्यपुरका शतप्रतिशत नागरिकलाई निःशुल्क उपचारको कार्यक्रम अगाडि बढाएको छ । उहाँले नगरपालिकाभित्र रहेका ५ वटा स्वास्थ्य केन्द्र र २ शहरी स्वास्थ्य केन्द्रलाई यसै अस्पतालमार्फत सञ्चालन गर्ने गरी कार्ययोजना अगाडि बढाएको पनि उहाँले जानकारी दिनुभयो ।

 

  • 25Read This News:
  • 510877Total reads:
  • 314137Total visitors: