प्रिमियर इन्स्योरेन्सद्वारा मोबाइल बीमा योजना शुरु

काठमाडौँ, १ असोज २०७५ । मोबाइल हरायो, बिग्रियो भनेर अब चिन्ता गर्नु नपर्ने भएको छ । मोबाइल सुरक्षालाई विशेष ध्यान दिँदै प्रिमियर इन्स्योरेन्सले मोबाइल बीमा योजना शुरु गरेको छ । आज यहाँ आयोजित एक कार्यक्रममा ‘मेरो सुरक्षा प्रालि’ र प्रिमियर इन्स्योरेन्सबीचमा मोबाइल बैंकिङसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

मेरो सुरक्षाले दिँदै आएको मोबाइल सुरक्षा योजनामा सहभागी हुनेको मोबाइल बीमा गराउने लक्ष्यका साथ एक कार्यक्रमका बीच दुई संस्थाका प्रमुख कार्यकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनुवार र प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्यायले मोबाइल बीमासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौताअनुसार मेरो सुरक्षाको मोबाइल सुरक्षा योजनामा सहभागी हुने सेवाग्राहीले प्रयोग गर्ने मोबाइलको बीमा प्रिमियर इन्स्योरेन्सले गर्नेछ । यसअघि मोबाइल सुरक्षा योजनाका रुपमा मात्र शुरु भएको सेवा अब मोबाइल बीमामा रुपान्तरण भएको हो । “मेरो सुरक्षासँगको सहकार्यले मोबाइल प्रयोगकर्ताले सहजरुपमा आफ्नो मोबाइलको बीमा गराउन सक्ने विश्वास हामीले लिएका छौँ” प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले भन्नुभयो ।

“कुनै कारणले मोबाइल फुटेमा, आगो वा पानीले मोबाइलमा भौतिक क्षति पुगेर नचल्ने भएमा, हराएमा वा चोरी भएमा मेरो सुरक्षाले पहिलेको मोबाइलको डाटासहित नयाँ मोबाइल सेट उपलब्ध गराउँछ” मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत सुनुवारले जानकारी दिनुभयो ।

हालसम्म मोबाइल सुरक्षा योजना २५ हजार बढीले खरीद गरिसकेका छन् भने मेरो सुरक्षाको मोबाइल एप ४० हजारभन्दा बढी डाउनलोड भइसकेको छ ।

 

  • 40Read This News:
  • 511341Total reads:
  • 314553Total visitors: