माडुरोको चीन भ्रमणमा, आर्थिक सुधारबारे छलफल हुने

चीन, २९ भाद्र २०७५ । भेनेजुयलाको आर्थिक सङ्कटबाट देशलाई माथि उठाउने प्रयासस्वरुप राष्ट्रपति निकोलास माडुरो बिहीबार ४ दिन लामो चीन भ्रमणमा निस्कनुभएको छ ।

भेनेजुयलाको सबैभन्दा ठूलो ऋणदाता चीनमा रहँदा माडुरोले भेनेजुयलाको आर्थिक तथा राजनीतिक सङ्कटलाई पार लगाउने बिषयमा चिनियाँ राष्ट्रपतिलगायतका उच्च पदस्थ अधिकारीसँग कुराकानी गर्नुहुने बताइएको छ ।

राजधानी कराकसबाट चीनका लागि छुट्नु पहिले माडुरोले सञ्चारकर्मीसँग कुराकानी गर्दै भन्नुभयो, “भ्रमण अत्यन्तै आवश्यक, समयोचित र धेरै अपेक्षाकासाथ गर्न लागिएको छ ।”
बुधबार टेलिभिजन सम्बोधन गर्दै उहाँले भन्नुभयो, “आर्थिक सुधारका कार्यक्रमपछि अहिले हामी केही सहज अवस्थामा रहेका छौँ । हाम्रो आगामी यात्रा आर्थिक विकास र समृद्धिका लागि हुनेछ । हामी विश्वका शक्तिराष्ट्रसँगको सम्बन्ध विस्तार गर्ने तथा प्रगाढ बढाउनेतर्फ लागिपरेका छौँ ।”
माडुरो आइतबारसम्म चीन रहनुहुने चिनियाँ समाचार संस्था सिन्ह्वा न्यूज एजेन्सीले जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका अनुसार माडुरोलाई चिनियाँ राष्ट्रपति सी चिनपिङले एक कार्यक्रमबीच स्वागत गर्नुहुनेछ ।
नियमित पत्रकार सम्मेलनमा भेनेजुयलाका राष्ट्रपतिको भ्रमणबारे गरिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता सुवाङले भन्नुभयो, “ भेनेजुयली राष्ट्रपतिको यो भ्रमणले दुई देशबीचको आपसी विश्वास बढाउनुका साथै आपसी फाइदा तथा मित्रवत सहकार्यलाई बलियो बनाउनेमा सफल हुनेछ ।”
सामाजिक प्रतिक्रियाका आधारमा पछिल्लो सरकारले आर्थिक तथा वित्तीय सुधारका कार्यक्रमलाई प्रोत्साहित गरेको उहाँले बताउनुभयो । मलाई लाग्छ भेनेजुयलाको स्थायी विकास सबै सम्बद्ध पक्षको हितका लागि हुनेछ ।

ओपेक सदस्य राष्ट्र भेनेजुयलालाई चीनले विगत एक दशकमा ५० अर्ब अमेरिकी डलर बराबरको ऋण उपलब्ध गराएको थियो । जसम्ध्ये पेट्रोलियम पदार्थ आपूर्तिमार्फत ल्याटिन अमेरिकी राष्ट्र भेनेजुयलाले ३० अर्ब अमेरिकी डलर फिर्ता गरेको छ भने अझै २० अर्ब अमेरिकी डलर ऋण तिर्न बाँकी छ ।
माडुरोको चीन भ्रमणमा थप ५ अर्ब ऋण थप्ने र पूरानो ऋणको म्याद आगामी छ महिना बढाउने कार्यक्रम रहेको भेनेजुयली संस्था इकोनालिटिकाले जनाएको छ ।

यसै हप्ता चीनको भ्रमण गरेका भेनेजुयली उपराष्ट्रपति डेल्सी रोड्रिगेजले चाइना डेभलपमेन्ट बैङ्कका अधिकारीसँग पनि यसै बिषयमा भेट गर्नुभएको थियो ।

भेनेजुयलाको आर्थिक सङ्कटका कारण यहाँको राष्ट्रिय मुद्रामा व्यापक गिरावट आएको छ ।

 

  • 40Read This News:
  • 511359Total reads:
  • 314571Total visitors: