काठमाडौँ, १५ साउन २०७५ । मुलुकभर जघन्य अपराधको घटनामा वृद्धि भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७३/७४ को तुलनामा आव २०७४/७५ मा जघन्य अपराधका घटनामा वृद्धि भएको हो ।
आव २०७४/७५ मा ६ हजार ६४६ जघन्य अपराधका मुद्दा अदालतमा दर्ता भएका छन् । आव २०७३/७४ मा ५ हजार ४४५ जघन्य अपराधसम्बन्धी मुद्दा दर्ता भएको थियो । यस्तै आव २०७२/७३ मा ४ हजार ९४५ मुद्दा दर्ता भएका थिए ।
आव २०७४/७५ मा डाँका दुई, कर्तव्य ज्यान ६२८, ज्यान मार्ने उद्योग ७२८, डाँका चोरी २७, लागूऔषध ३ हजार ८८, व्यक्ति अपहरण ७७, हातहतियार खरखजना २५४, मानव बेचबिखन तथा ओसारपसार ३०८, जबर्जस्ती करणी १ हजार ४८०, विस्फोटक पदार्थ ५४ मुद्दा दर्ता भएका छन् ।
प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्री जनसंख्याको वृद्धि र प्रहरीको सक्रियतासँगै जघन्य अपराधका घटनामा वृद्धि भएको बताउनुहुन्छ । “प्रहरीले हरेक निवेदनको गम्भीरताका साथ अध्ययन अनुसन्धान गरेको छ, त्यस कारण पनि जघन्य अपराधका घटना बढेको हो,”– उहाँ भन्नुहुन्छ । जघन्य अपराध भनेको माफ नहुने अपराध हुन् । जुन अपराध गम्भीर प्रकृतिका हुन्छन् ।
प्रदेश नं ३ मा जघन्य अपराध मुद्दा धेरै
मुलुकको राजधानी काठमाडौँसमेत रहेको प्रदेश नं ३ मा जघन्य अपराधको घटना बढी रहेका छन् । प्रहरी प्रधान कार्र्यालयका अनुसार प्रदेश नं ३ मा मात्र विभिन्न अपराधमा १ हजार ६४९ मुद्दा दर्ता भएका छन् । काठमाडौँ, भक्तपुर र ललितपुरमा ९२१, केन्द्रीय अनुसन्धान ब्यूरो र लागूऔषध नियन्त्रण ब्यूरोमा ४५ तथा प्रदेश नं ३ का अरु जिल्लामा ६८३ मुद्दा दर्ता भएका छन् । लागूऔषधसम्बन्धी ७८६ मुद्दा रहेका छन् ।
यसैगरी प्रदेश १ मा १ हजार ५२३, प्रदेश २ मा १ हजार ६१, प्रदेश ४ मा ५४२, प्रदेश ५ मा १ हजार २८८, प्रदेश ६ मा २०७ र प्रदेश ७ मा ३७६ मुद्दा दर्ता भएका छन् ।
मुलुकभर लागूऔषधका मुद्दा धेरै
दर्ता भएका जघन्य अपराधका घटनामा लागूऔषधका घटना बढी रहेका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार लागूऔषध ओसारपसारमा मात्र ३ हजार ८८ मुद्दा दर्ता भएका छन् । जसमा उपत्यका ५१८, प्रदेश १ मा ७१९, प्रदेश २ मा ४८६, प्रदेश ३ मा २६८, प्रदेश ४ मा २८३, प्रदेश ५ मा ६२८, प्रदेश ६ मा ४८ र प्रदेश ७ मा १३८ मुद्दा दर्ता भएका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक ठूले राई प्रहरीको सक्रियता बढेसँगै लागूऔषध दुव्यर्सनीका घटनामा वृद्धि भएको बताउनुहुन्छ । “लागूऔषधमा धेरै वस्तु रहेका छन्, धेरै ठाउँबाट थोरै सामान बरामद भए पनि लागूऔषधका घटनामा वृद्धि भएको देखिन्छ,”– उहाँ भन्नुहुन्छ ।
लागूऔषधपछि जबर्जस्ती करणीमा धेरै मुद्दा दर्ता भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार जबर्जस्ती करणीमा मुलुकभर १ हजार ४८० मुद्दा दर्ता भएका हुन् ।
तराईका जिल्लामा मुद्दा धेरै
दर्ता भएका अपराधका घटनालाई हेर्दा तराईका जिल्लामा जघन्य अपराधका धेरै घटना घटेका छन् । तराईका मात्र जिल्ला रहेको प्रदेश २ र प्रदेश ५ मा जघन्य अपराध अरु प्रदेशको तुलनामा बढी रहेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल–भारत खुला सिमानाका कारण तराई क्षेत्रमा बढी घटना घट्ने गरेका हुन् ।
– अच्युत रेग्मी/रासस


