सुर्खेतमा रु २८ करोड ५४ लाख राजश्व संकलन

सुर्खेत, १४ साउन २०७५ । जिल्ला मालपोत कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७४/७५ मा आफ्नो प्रक्षेपित लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ ।

आव २०७४/७५ मा जिल्ला मालपोत कार्यालय सुर्खेतले रु २८ करोड ५४ लाख ५१ हजार ६५१ राजश्व संकलन गरेको हो । जग्गा रजिष्ट्रेसनमा मात्रै रु ११ करोड ४२ लाख २८ हजार राजश्व उठाउने लक्ष्य राखेको मालपोत कार्यालय सुर्खेतले रु २७ करोड ८७ लाख ४७ हजार ६९५ राजश्व संकलन गरेको जिल्ला मालपोत अधिकृत कृष्णप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

जग्गा राजीनामा, अंशबण्डा, सट्टापट्टा, छोडपत्र, संगोलमा, दर्ताफारी, अंश भर्पाई, दृष्टिबन्धक, नाताभित्र तथा बाहिरको बकसपत्र, पतिपत्नीको संगोलनामा, बण्डाफारी र दानपत्रजस्ता लिखत पारितबाट रु २७ करोड ८७ लाख ४७ हजार र अन्य शीर्षकबाट रु ६७ लाख तीन हजार ८५६ गरी कूलजम्मा रु २८ करोड ५४ लाख ५१ हजार ६५१ राजश्व संकलन भएको मालपोत अधिकृत पोखरेलले बताउनुभयो ।

मालपोत अधिकृत पोखेरलका अनुसार सबैभन्दा बढी जग्गा राजीनामाबाट रु २३ करोड ३४ लाख ९१ हजार ९२५ राजश्व उठेको छ । धितो बन्धकबाट रु दुई करोड १४ लाख ५३ हजार र नाता भित्रको बकसपत्र पारितबाट रु एक करोड १७ लाख ७१ हजार ७८५ राजश्व संकलन भएको छ । महिलासहित विभिन्न वर्गलाई राज्यले दिएको सुविधाअनुसार गएको वर्ष रु ४ करोड नौ हजार १९६ राजश्व छुट दिइएको छ ।

कार्यालयका नायब सुब्बा दुर्गाप्रसाद आचार्यले लक्ष्यभन्दा ४४ प्रतिशत बढी राजश्व उठेको बताउनुभयो ।

“राजश्व संकलन लक्ष्यभन्दा उठ्नुको प्रमुख कारण पहिलो सुर्खेत राजधानी तोकिनु त्यस प्रतिको आकर्षण नै हो,” नायब सुब्बा आचार्यले भन्नुभयो । गत वर्षभन्दा २०–२५ प्रतिशत जग्गाको मूल्याङ्कन बढ्नु र बैंकिङ सेवामा ऋण प्रवाह हुनुले लक्ष्यभन्दा बढी राजश्व संकलन भएको बताइएको छ ।

 

  • 51Read This News:
  • 459046Total reads:
  • 268591Total visitors: