उदयपुर सिमेन्ट उद्योगले गर्यो यो वर्ष रु दुई अर्बभन्दा बढीको कारोवार

उदयपुर, ९ साउन २०७५ । नेपालको एकमात्र सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले एक वर्षमा झण्डै रु दुई अर्बभन्दा बढी मूल्यको सिमेन्ट बिक्री गर्न सफल भएको छ ।

प्रशासनका अनुसार २०७४ को साउन महिनादेखि २०७५ को असारको पहिलो हप्तासम्ममा उद्योगले रु दुई अर्ब २२ करोड २७ लाख ९६ हजार मूल्यको सिमेन्ट बिक्री गरेको हो ।

विद्युत् भार कटौतीको मार ब्योहोर्दै आउन परेको सिमेन्ट उद्योगले आफ्नै प्रयास र कठिन परिश्रमबाट यस वर्ष एक लाख २९ हजार ५०० मेट्रिक टन अर्थात् २४ लाख ६ हजार ९०० बोरा सिमेन्ट उत्पादन गरेर नयाँ रेकर्ड राखेको उद्योगका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले बताउनुभयो । उत्पादित सिमेन्टको मूल्य रु दुई अर्ब २३ करोड बराबरको रहेको पनि महाप्रबन्धक पौडेलले जानकारी दिनुभयो ।

उदयपुर जिल्लाको जलजलेमा अवस्थित उद्योग विसं २०४४ बाट सञ्चालनमा आएको उद्योगले विद्युत् भार कटौतीको मारको खेप्नुपरेको कारण २०५८ सालमा पहिलो पटक ठूलो परिमाणमा सिमेन्ट उत्पादन गरेर बिक्री गर्न सफल भएको थियो ।

त्यसपछिका समयमा यस वर्षमात्र सिमेन्ट उद्योगले सबैभन्दा बढी सिमेन्ट उत्पादन गरी बिक्री गरेको र यो नयाँ रेकर्ड स्थापना भएको उद्योगका महाप्रबन्धक पौडेल बताउनुहुन्छ ।

पाँच महिना यतादेखि विद्युत् भार कटौतीको समस्या हल हुन थालेपछि अहिले सिमेन्ट उद्योगले दैनिक ७५० मेट्रिक टनभन्दा माथि सिमेन्ट उत्पादन गर्दै आएको छ । विगतमा उद्योगले मुस्किलले ५५० मेट्रिक टन मात्र सिमेन्ट उत्पादन गर्ने गरेको थियो ।

देशकै सबैभन्दा ठूलो उदयपुर सिमेन्ट उद्योगको दैनिक ८०० मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको छ ।

 

  • 21Read This News:
  • 484367Total reads:
  • 289744Total visitors: