अमेरिका, २२ असार २०७५ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ बिहीबार बासिङ्टनबाट उत्तर कोरियाको राजधानी प्योङग्याङ लाग्नुभएको छ ।
उत्तर कोरियाली नेता किम जोङ उनसँग वार्ताका लागि उहाँ त्यसतर्फ लाग्नुभएको हो । अमेरिकी विदेश मन्त्रालयले सो जानकारी दिएको छ ।
उहाँ उत्तर कोरियाले यसअघि नै प्रतिबद्धता व्यक्त गरेको निशस्त्रीकरण विषयमा जारी अन्तिम चरणको वार्ताको लागि त्यसतर्फ लाग्नुभएको बताइएको छ ।
अमेरिकी वरिष्ठ कूटनीतिज्ञ पोम्पेओसँग अमेरिकी विदेशमन्त्रालयका अन्य उच्च अधिकारी पनि साथमा रहेको बताइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीच गत महिना सिङ्गापुरमा ऐतिहासिक शिखर वार्ता भएको थियो ।
सो समयदेखि नै राष्ट्रपति ट्रम्प उत्तर कोरियाकोतर्फबाट बारम्बार आउने गरेको आणविक युद्धको चेतावनीको अन्त्य भएको बताइएको छ ।
त्यस वार्तापछि उत्तर कोरियाली प्रायःद्वीपमा शान्तिको आशा बढेको विश्वास गरिएको बताइन्छ ।
यस वार्ताकाक्रममा उत्तर कोरियाले प्रतिबद्धता व्यक्त गरेको पूर्णनिशस्त्रीकरणका लागि उत्तर कोरियाले काम सुरु गरिसकेको पनि उसको दाबी छ ।
सिङ्गापुरमा दुई नेताबीच भएको शिखर वार्तापछि सम्झौतापत्रमा हस्ताक्षरसमेत भएको थियो ।
सोही सम्झौतापत्रअनुरुप कोरियाली प्रायःद्वीपमा पूर्णनिशस्त्रीकरणको उद्देश्य प्राप्त गर्नको लागि अमेरिकी विदेशमन्त्रीको नेतृत्वमा उच्च अधिकारी त्यसतर्फ लाग्नुभएको हो ।
वासिङ्टनले कोरियाली प्रायःद्वीपमा पूर्णनिशस्त्रीकरणको काम बढीमा एक वर्षभित्र पूराहुने आशा गरेको पनि बताउने गरेको छ ।
तर कैयौँ अमेरिकी विज्ञ, उत्तर कोरियालाई नजिकबाट हेरिरहेका केही अधिकारी र राष्ट्रपति ट्रम्पका आलोचकले भने किमले गरेको बाचामा कुनै वजन नरहेको आरोप लगाउने गरेका छन् ।
कोरियाली प्रायःद्वीपमा पूर्णनिशस्त्रीकरणको उद्देश्य पूराहुन कैयौँ वर्ष लाग्ने उनीहरुले बताउँदै आएका छन् ।


