चितवन निकुञ्जमा बिच्छ्याइएको विद्युतीय तार फेरिने

चितवन, १९ असार २०७५ । जिल्लाको माडी क्षेत्रमा गरिएको विद्युतीकरण असफल भएपछि नयाँ तार बिच्छ्याइने भएको छ ।

यसअघि बिच्छ्याइएको तार कमसल भएकाले नयाँ तार प्रयोग गर्न लागिएको हो । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सुरेशकुमार महतोका अनुसार जमिनमुनि बिच्छ्याइएको तार कमसल परेपछि समस्या उत्पन्न भएको थियोे ।

चनौली सबस्टेशनबाट चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रमा भूमिगत तार बिच्छ्याएर माडीमा विद्युतीकरण गरिएको थियो । विसं २०७३ फागुनदेखि माडी क्षेत्रमा विद्युत् पुगे पनि पटक पटक समस्या आउने गरकाले विगत १० दिनयता माडी क्षेत्रमा विद्युत् सेवा प्रभावित हुँदै आएको छ ।

पटक पटक गरी अहिलेमात्रै तीन पटक मर्मत गरे पनि मर्मत गरेको दुई तीन घण्टामै विद्युत् आपूर्ति बन्द हुने गरेकोे र भूमिगत तार गुणस्तरीय नहुँदा समस्या आएको उहाँले बताउनुभयो । तारको सुरक्षाका लागि राखिएको पाइपमा पानी जमेको र सोका कारण तारले राम्रोसँग काम नगरेको अहिले मर्मत गरेको स्थानबाट दुई तीन मिटर फरकमा फेरि तार जल्ने गरेकाले दिगो रुपमा समस्या समाधानका लागि नयाँ तार आवश्यक हुने देखिएपछि टेण्डरको प्रक्रिया शुरु गरिएको प्रमुख महतोले बताउनुभयो ।

चनौली माडी ३३ केभिए सवस्टेशन निर्माण आयोजनाले निर्माण सम्पन्न गरेर हस्तान्तरण नगर्दै सो समस्या आएको थियो । तारमा आवश्यकताअनुसारको इन्सुलेन्सको कमीका कारण पटक पटक समस्या आउने गरेको उहाँले बताउनुभयो । निकुञ्ज क्षेत्रमा गरिएको भूमिगत तार बिच्छ्याइएका कारण माडी क्षेत्रका जनताले पटक पटक यस्तो समस्या खेप्नुपरेको छ । माडी क्षेत्रमा विद्युत्का पाँच हजार ग्राहक छन् ।

 

  • 111Read This News:
  • 459510Total reads:
  • 269018Total visitors: