नेपाल वायु सेवा निगमले संचालनमा रहेको सबै विमानस्थलमा सेवा दिने

काठमाडौँ, १७ असार २०७५ । नेपाल वायु सेवा निगमले सञ्चालनमा रहेका सबै विमानस्थलमा आफ्नो विमानमार्फत सेवा दिने भएको छ ।

राष्ट्रिय ध्वजावाहक निगमले सुगम तथा दुगर्मका सबै विमानस्थमा आफ्ना जहाज मार्फत सेवा दिने दीर्घकालीन लक्ष्य राखेको छ । अन्तर्राष्ट्रिय उडानमा मात्रै ध्यान दिँदा निगमको आन्तरिक बजार खस्केको र निजी क्षेत्रमा विमान कम्पनीले हिस्सा बढाएको पाइएपछि निगम आक्रामक रुपमा बजार विस्तारका लागि कार्ययोजनासहित प्रस्तुत हुन लागेको हो ।

हाल निगमसँग आन्तरिक उडानका लागि चीनबाट आयात गरिएको ६ वटा विमान र पूराना २ वटा विमान गरी कूल ८ वटा विमान रहेका छन् । आन्तरिक तथा बाह्य उडानलाई सँगसँगै प्रमुख सहज हवाई सेवा सञ्चालनका लागि सरकारले भन्दै सरकारले मुलुकको हवाई सेवाको पहुँच देशव्यापी भए पनि यसका चुनौती भने कायम रहेका छन् ।

निगमका महाप्रबन्धक सुगतरत्न कसांकारले अन्तर्राष्ट्रिय सेवासँगसँगै आन्तरिक सेवा पनि उत्तिकै महत्वपूर्ण रहेकाले त्यसमा विशेष ध्यान दिइएको जानकारी दिनुभयो । महाप्रबन्धक कसांकारले भन्नुभयो, “आन्तरिक सेवामा पनि हामी चाँडैनै जति विमानस्थल चालू छन्, त्यहाँ नाफा घाटा नहेरिकन देश र जनताको सेवाको लागि सामाजिक र आर्थिक विकासको लागि त्यहाँ हामीले सेवा दिन्छौँ ।”

विमानस्थल भएका जिल्लामा हप्ताको एउटा मात्रै उडान भए पनि १९ सीट क्षमताको विमानमा २ जना यात्रु भएपनि नियमित उडान राखेर सेवा दिने निगमको प्रण छ । “अन्तर्राष्ट्रिय सेवाको ग्राउण्ड ह्याण्डलिङबाट नाफा कमाएर देशका दुर्गम र विकट क्षेत्रमा नाफा नहेरिकन हामीले चलाउनैपर्छ । चलाउँछौ । यो हाम्रो दायित्व हो ।”

निगमलाई वास्तविक रुपमा व्यावसायिक र प्रतिस्पर्धी बनाउन लागि परेको जानकारी दिँदै महाप्रबन्धक कसांकारले निगमको सबै सेवालाई चुस्त, दुरुस्त बनाएरै छाडिने दृढता व्यक्त गर्नुभयो । अधिकांश जिल्लामा हवाई सञ्जाल विस्तार भएको छ, तर पनि प्रभावकारी रुपमा सञ्चालनमा भने आउन सकेको छैन ।

भौगोलिक कठिनाइ, मौसमी अवस्था र पूर्वाधार विस्तार प्रभावकारी नहुँदा विमानस्थल प्रभावकारी बन्न नसकेका हुन् ।

निगमले आन्तरिक बजार विस्तारका लागि थप ६ वटा विमान खरिद गर्ने भएको छ । कूल १९ सीट क्षमताका क्यानेडियन कम्पनीका ट्वीनअटर जहाज खरिद गर्न लागिएको महाप्रबन्धक कंसाकारले जानकारी दिनुभयो ।

दुर्गममै उडान गर्ने प्रयोजनका लागि निगमले चिनियाँ कम्पनीका वाई १२ जहाज ल्याइसकेको छ । यस्तै सुगम गन्तव्यको उडानका लागि एमए ६० जहाज ल्याइएको छ । चालकको अभावका कारण ती विमान सञ्चालनमा ल्याउन कठिनाई भइरहेको छ । तर छिट्टै नयाँ कार्ययोजना बनाएर सबै गन्तव्यमा जहाज उडाउने निगमको योजना छ । निगमले थप ट्वीनअटर जहाज ल्याएर आन्तरिक उडानमा आक्रमक हुने योजनामा अगाडि सारेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले केही समय पहिले सार्वजनिक गर्नुभएको कार्ययोजनामा पनि निगमलाई जहाज किन्न सहजीकरण गर्ने उल्लेख छ । ती जहाजका लागि करिब रु ३ अर्ब खर्च लाग्ने अनुमान गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार मुलुकभर कुल ५६ विमानस्थलमध्ये ३३ वटा सञ्चालनमा छन् भने १७ वटा बन्द छन् । यस्तै ६ वटा निर्माणका क्रममा छन् । केही दिन पहिलेदेखि राजविराज विमानस्थल सञ्चालनमा आएको छ । यस्तै इलामको सुकीलुम्बा विमानस्थलमा समेत परीक्षण उडान भइसकेको छ । यस्तै गुल्मीको रेसुङ्गा विमानस्थल पनि परीक्षण उडान भइसकेको छ ।

यस्तै अछामको कमलबजार र सञ्चालनमा रहेर पछिल्लो केही समयदेखि बन्द भएको साँफेबगर विमानस्थलबाट पनि सेवा दिने तयारी गरिएको छ । तर लामो समयपछि सञ्चालनमा ल्याइएको बाग्लुङको बलेवा विमानस्थल र दाङको टारिगाँउ विमानस्थल भने यात्रुको अभावका कारण सञ्चालनमा कठिनाइ देखिएको छ ।

सोलुखुम्बुमा सबैभन्दा बढी ४ र खोटाङमा ३ विमानस्थल छन् । काठमाडौँसहित २६ वटा विमानस्थल कलोपत्रे गरिएका छन । काठमाडौँपछि पोखरा, विराटनगर, भैरहवा, भद्रपुर, नेपालगन्ज र धनगढी विमानस्थल सुविधा सम्पन्न मानिन्छ ।

मुलुकभित्र सञ्चालनमा रहेका आन्तरिक विमानस्थलमध्ये वर्षात्को समयमा पहाडी भेगका अधिकांश विमानस्थल बन्द हुन्छन् । प्राधिकरणका अनुसार ताप्लेजुङ, लामिडाँडा, कांगेलडाँडा, थामखर्क, दाङ, मनाङ, मेघौलीलगायत विमानस्थल वर्षात्को समयमा बन्द हुन्छन् भने अन्य केही विमानस्थलमा अवरोध हुने गरेको छ ।

वर्षातको समयमा पहिरो, बाढीका कारण सडकमार्ग अवरुद्ध हुने र गन्तव्यमा पुग्ने यात्रुलाई समस्या पर्ने हुँदा हवाई यातायात छिटो र छरितो मानिन्छ । मौसम प्रतिकूलताका कारण पहाडी भेगका अधिकांश विमानस्थल बन्द हुने गरेको प्राधिकरणले जनाएको छ ।

आर्थिक हिसाबले आन्तरिक विमानस्थल सबैजसो घाटामा रहेको पाइएको छ । पर्यटकीय दृष्टिकोणले करोडौँ खर्चेर बनाइएका विमानस्थल पनि पूर्णरुपमा सञ्चालन नहुँदा थप घाटा पुगेको छ ।

–रमेश लम्साल/सिबी अधिकारी/रासस

 

  • 33Read This News:
  • 459142Total reads:
  • 268683Total visitors: