काठमाडौँ, १२ असार २०७५ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले इन्टरनेट सेवा शुल्क अन्य मुलुकभन्दा नेपालमा सस्तो रहेको र मोबाइल इन्टरनेट सेवा शुल्क अन्य मुलुकभन्दा बढी भए पनि कम गर्दै लैजाने बताउनुभएको छ ।
विनियोजन विधेयकमाथिको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले दूरसञ्चार क्षेत्रको पूर्वाधार विकास गर्न जरुरी भएकाले मोबाइल इन्टरनेट केही महँगो भएपनि आगामी दिनमा त्यसलाई सस्तो बनाउँदै लैजाने बताउनुभएको हो ।
आपत्कालीन अवस्थामा सूचना तथा सञ्चार क्षेत्रको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री बाँस्कोटाले जोखिमका समयमा सूचना व्यवस्थापनमा मन्त्रालय सदैव तयार रहन्छ भन्नुभयोे । सूचना तथा सञ्चार प्रविधि अध्ययन गर्ने विद्यार्थीका लागि जागिर उपलब्ध गराउने विषयमा सरकार गम्भीर भएको पनि उहाँले जनकारी दिनुभयो ।
नेपाल टेलिकमको विकास गर्न, यसको सेवा गुणस्तरीय बनाउन र देशका सबै भूभागमा टेलिकमको सेवा विस्तार गर्न र पूर्वाधार बनाउन सरकार तत्पर रहेको उहाँले बताउनुभयो । उहाँले आगामी आवमा ७३८ नयाँ टावर थप्न लागिएका जानकारी दिँदै त्यसपछि टेलिकम सेवा नपुगेका स्थानमा पनि सेवा उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री बास्कोटाले भन्नुभयो, “दुई वर्षभित्र सबै स्थानीय तहमा टेलिकमको सेवा पुग्छ । सार्वजनिक सूचना केन्द्र पनि पुग्नेछ ।”
“लोककल्याणकारी विज्ञापन पत्रकारिता क्षेत्रभन्दा बाहिरका संस्थालाई उपलब्ध गराइएको छैन र मूल्याङ्कनमा मन्त्रालयले कुनै आग्रह र पूर्वाग्रह पनि गरेको छैन,” उहाँले भन्नुभयो ।
विद्युतीय सञ्चारमाध्यमलाई विज्ञापन उपलब्ध गराउने पहिलेदेखिकै प्रचलन भएकाले त्यसलाई अहिले नै हटाउन सकिने स्थिति नरहेको बताउँदै भन्दै मन्त्री बाँस्कोटाले विज्ञापनका लागि उपलब्ध गराइने रकमको दुरुपयोग हुन नहुने स्पष्ट पार्नुभयो ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिले गरेको सिफारिसअनुसार श्रमजीवी पत्रकारको बीमालगायतका विषयमा सरकारको ध्यान पुगेको उहाँको भनाइ थियो ।
मन्त्री बाँस्कोटाले नेपाली सञ्चारमाध्यममा बज्ने विज्ञापनमा नेपाली कलाकार रहने बताउनुभयो र ‘क्लिन फिड’को कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले वाइफाइ जोन सञ्चालनका लागि एप्स बनाइसकेकाले देशभर फ्रि वाइफाइको सुविधा उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो ।
रेडियो नेपालको प्रशारण ८७ प्रतिशत भूभागमा पुगेको जानकारी दिँदै उहाँले आगामी आवमा ५०० विद्यालयमा कम्प्युटर ल्याब बनाउने र प्रत्येक प्रदेशमा एक स्मार्ट विद्यालय बनाउने बताउनुभयो ।
उहाँका अनुसार नेपाल टेलिभिजनको प्रशारण कूल जनसंख्याको ७२ प्रतिशत तथा कूल भूभागको ५२ प्रतिशत भूभागमा पुगेको छ र ११६ देशबाट यसको प्रशारण हेर्न सकिने भएको छ । उहाँले सबै भूभाग र जनतामा सेवा पु¥याउने लक्ष्यका साथ काम अगाडि बढाइएको जानकारी पनि सदनलाई दिनुभयो ।
दुई वर्षभित्रमा सबै सामुदायिक विद्यालयमा इन्टरनेट पु¥याउने र त्यस कार्यका लागि शिक्षा मन्त्रालयसँग सहकार्य गरेर अगाडि बढ्ने बताउँदै उहाँले भन्नुभयो – युवा लक्ष्यित डिजिटल शिक्षा दिने सरकारको योजना छ ।
सामुदायिक रेडियोका लागि नीतिगत व्यवस्था गर्दै लगिने वचनबद्धता प्रकट गर्दै मन्त्री बाँस्कोटाले सामुदायिक र व्यापारिक रेडियो छुट्याएर सरकार सचेततापूर्वक अगाडि बढेको बताउनुभयो ।
समावेशी भाषाका कार्यक्रमका लागि रेडियो नेपाललाई थप बजेट उपलब्ध गराइएको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “प्रदेशमा सञ्चारग्राम निर्माणका लागि बजेट अपुग भए थप गर्न सकिन्छ ।”
पत्रकारको कल्याणकारी कोष बढाउँदै लैजाने र त्यसका लागि सञ्चालन कार्यविधि बनाएको जानकारी उहाँले दिनुभयो ।
मन्त्री बाँस्कोटाले नेपाल टेलिभिजनको कोहलपुरबाट प्रशारण शुरु भइसकेको र इटहरीबाट शुरु हुने क्रममा रहेको जानकारी दिँदै त्यसका लागि बजेट अभाव हुन नदिने वचनबद्धता प्रकट गर्नुभयो ।
उहाँले भन्नुभयो – सार्वजनिक सञ्चारमाध्यममा हस्तक्षेप गर्ने सरकारको नीति छैन र कुनै पनि कार्यक्रम बन्द भएको छैन । कुनै पनि कर्मचारी निकालिएको छैन । मन्त्री बाँस्कोटासँग २१ सांसदले प्रश्न सोध्नुभएको थियो ।


