लामिछानेद्वारा अमेरिकी नागरिकता त्याग भएको जानकारी

काठमाडौँ, ७ असार २०७५ । पत्रकार रवि लामिछानेले अमेरिकी राहदानी र नागरिकता परित्यागसम्बन्धमा निवेदन दिएको जानकारी गृह मन्त्रालयबाट आज अपराह्न प्रेस काउन्सिल नेपालमा प्राप्त भएको काउन्सिलले जनाएको छ ।

चार वर्षदेखि नेपालको अध्यागमन, श्रम र प्रेस कानुन उल्लंघन गरेको भनी लामिछानेमाथि आवश्यक कारवाही गर्न काउन्सिलमा परेको उजुरीमाथि छानवीन गर्ने क्रममा गत चैत २३ गते स्पष्टीकरण सोधिँदा उहाँले आफू विदेशी नागरिक नभएको, पत्रकार पनि नरहेको र श्रम इजाजत लिएको दावीसहित काउन्सिललाई गत वैशाख ६ गते लिखित जवाफ दिनुभएको थियो । उहाँ ‘न्यूज २४’ टिभीमा कार्यरत हुनुहुन्छ ।

सामाजिक सञ्जालमार्फत ‘अशिष्ट, अपुष्ट र आपत्तिजनक’ टिप्पणी काउन्सिलका सन्दर्भमा राख्दै आउनुभएपछि काउन्सिलले उहाँको नेपाल बसाइ र यहाँ रहँदा काम गर्ने वैधताबारे सम्बन्धित निकायमा यही असार ४ गते पत्राचार गरेको र त्यसको ४८ घण्टा नबित्दै असार ६ गते लामिछानेले आफूले अमेरिकी दूतावासमा रु दुई लाख ५८ हजार ५०० दस्तुर बुझाई अमेरिकी नागरिकता र राहदानी परित्याग गरेको जानकारी गराउँदै अध्यागमन विभागलाई निवेदन दिनुभएको जनाइएको छ ।

नेपालमै रही सञ्चारसम्बद्ध पेशा व्यवसायमा संलग्न हुने उहाँको व्यक्तिगत रुचिको कदर गर्दै काउन्सिलले उहाँलाई सार्वभौम राष्ट्रको प्रचलित नियम, कानुन, विधि, प्रक्रियाको पूर्ण परिपालना गर्न, पेशागत मर्यादामा ध्यान दिन तथा आफ्ना लेखाइ वा प्रस्तुतिमा शिष्टता, जिम्मेवारीबोध र पेशागत शुद्धताको ख्याल गर्दै विद्युतीय कारोवार ऐनलगायत तत्सम्बन्धी प्रचलित अन्य कानूनको समेत उल्लंघन नहुनेमा ध्यान पु¥याउन निर्देशन दिएको काउन्सिलका सहप्रशासकीय अधिकृत दीपक खनालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

काउन्सिलले पत्रकारिता पेशाको उच्चतम आचरण पालनामार्फत् यसको गरिमा र पत्रकारको पेशागत सुरक्षा तथा प्रतिष्ठा प्रबद्र्धनमा क्रियाशील रहेको बताउँदै पवित्र ध्येयका साथ संस्थाबाट भए गरिएका कुनै पनि कामकारवाहीमाथि बदनियतपूर्ण र अवाञ्छित टीकाटिप्पणी कसैकसैबाट भइरहेको पाइएकाले सोप्रति दुःख व्यक्त गर्दै तथ्यसहितको तर्कविना कुनै पनि खालका सतही टीकाटिप्पणी नगर्न÷नगराउन सम्बद्ध पक्षमा आग्रह गरेको छ ।

 

  • 88Read This News:
  • 480332Total reads:
  • 287813Total visitors: