क्याटलोनियामा भएको झडपमा परी सय जना घाइते

स्पेन १२ चैत २०७४ । क्याटलोनियाका पूर्व नेतालाई पक्राउ गरिएको विरोधमा भएको प्रदर्शनका क्रममा झडप हुँदा झण्डै एक सय जना घाइते भएका छन् ।

पूर्व नेता कारलस पुज्डमोनलाई आइतबार पक्राउ गरी जर्मनीमा हिरासतमा राखिएको विरोधमा स्पेनमा क्याटलोनियाका पूर्व पृथकतावादी नेताहरूले विरोध प्रदर्शन गरेका हुन् ।

यहाँको मेडिकल इमरजेन्सी सर्भिस (एसइएम)ले प्रदर्शनमा सहभागी भएका मध्ये ९८ लाई उपचार आवश्यक रहेको जनाएको छ ।

बार्सिलोना, लेरिडा र तार्रागोनामा भएका घटनामा परी घाइतेहरूको शरिरका विभिन्न भागमा निलडाम र गहिरो चोट लागेका बताइएकोे छ ।

घाइते ९० जनामध्ये २२ जना स्थानीय प्रहरी अधिकारीहरू रहेका छन् । उनीहरू बार्सिलोनामा भएको प्रदर्शनमा झडप हुँदा घाइते भएको अधिकारीले जनाएका छन् ।

प्रदर्शनकारीले फोहोर बोक्ने कन्टेनरमा आगजनी गर्नुका साथै विभिन्न पदार्थ प्रहरी तिर फालिदिएका थिए । त्यसपछि प्रहरीले प्रतिक्रिया स्वरुप लाठी चार्ज गरेको थियो ।

देशद्रोह र विद्रोह गरेको आरोप लागेपछि क्याटलोनियाका पूर्व नेता कारलस पुज्डमोन गत सन् २०१७ को अक्टोबर २९ तारिखका दिन बेल्जियम जानुभएको थियो । उहाँलाई एक दिन अघि जर्मनीबाट पक्राउ गरिएको हो ।

पुज्डमोनका वकीलले उहाँलाई नियन्त्रणमा लिइएको समाचार सार्वजनिक गर्नुभएको डेनमार्कबाट प्राप्त समाचारमा जनाइएको छ ।

बेल्जियमतर्फ जाने क्रममा डेनमार्कबाट जर्मनी प्रबेश गरेपछि सीमा क्षेत्रनजिक उहाँलाई नियन्त्रणमा लिइएको उहाँका वकीलले जानकारी दिनुभएको हो ।

क्याटलोनियालाई स्पेनबाट अलग गराउने पक्षमा जनमत संग्रह गराएको उहाँमाथि आरोप छ ।

उहाँलाई स्पेन सरकारले देश टुक्र्याउन खोजेको भन्दै राज्यद्रोहको मुद्दा लगाएको छ । यस्तो मुद्दा लागेकाले उहाँ देश फर्किएमा स्पेन सरकारले राज्यद्रोहको मुद्दामा नियन्त्रणमा लिनसक्ने कानूनी व्यवस्था छ ।

क्याटलोनियामा भएको जनमत संग्रहमा बहुमत जनताले स्पेनबाट टुक्र्याएर अलग गराइने पक्षमा मतदान गरेका बताइएको थियो । तर संकट लगाएर क्याटलोनियाली पृथकतावादीहरूको प्रयास विफल पारिएको थियो ।

त्यहाँको संसद् र सरकार पनि भंग गरी स्पेनको केन्द्र सरकारले प्रत्यक्ष शासन लागू गरेको थियो । तर केन्द्र सरकारको पहलमा निर्वाचन गरी क्याटलोनिया विवादलाई मथ्थर पार्न खोजेको छ ।

 

  • 58Read This News:
  • 417511Total reads:
  • 230267Total visitors: