जथाभावी पार्किङ गरिएका बसको साँचो कब्जामा

खोटाङ, १ चैत २०७४ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलस्थित रत्नपार्कमा जथाभावी पार्किङ गरेर राखेको बसको साँचो नियन्त्रणमा लिएको छ ।

बसपार्क हुँदाहुँदै यातायात व्यवसायीले सडकबीचमै पार्किङ गरेर राखेका ६ वटा बसको साँचो बुधबार साँझ पार्किङस्थलमै पुगेर नियन्त्रणमा लिइएको हो ।

नगरपालिका प्रवेश गर्ने सबै बस तथा जिप सम्बन्धित बसपार्क तथा जिप पार्कमा लगेर राख्न पटक पटक नगरपालिकाले गरेको अनुरोधलाई अटेर गरेपछि साँचो नियन्त्रणमा लिइएको नगर प्रमुख दीपनारायण रिजालले बताउनुभयो ।

“हामीले बसपार्कसम्म पुग्ने सडक पनि बनाएका छौँ ।” उहाँले भन्नुभयो, “विभिन्न बहाना बनाएर सडकमै पार्किङ गर्ने बस तथा जिपलाई कानूनी कारवाही गर्न थालेका हौँ ।”

जिल्लामा सञ्चालित बस जथाभावी पार्किङ गरेर राखेको स्थानीयवासीले दिएको जानकारीका आधारमा नगर प्रमुख रिजाल आफैँ सुरक्षाकर्मीसहित जथाभावी पार्किङ गरेर राखिएको स्थलमा पुग्नुभएको थियो । यातायात व्यवसायीले सडक बीचमै पार्किङ गरेर बस तथा जिप राख्दा पैदल यात्रुलाई समेत असर गर्ने गरेको छ ।

यातायात व्यवसायीले भने बसपार्कसम्म पुग्ने सडक राम्रो नभएका कारण बाध्य भएर सडकमै पार्किङ गर्नुपरेको बताएका छन् । “नगरपालिकाले गरेको अनुरोधलाई हामीले अटेर गरेका हैनौँ ।” मध्यपहाडी यातायात व्यवसायी संघका खोटाङ प्रमुख धनीराम राईले भन्नुभयो, “बसपार्कसम्म पुग्ने सडक राम्रो नभएकै कारण बाध्य भएर सडक बीचमै पार्किङ गरेका हौँ । यसमा सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।”

सदरमुकाम दिक्तेल नजिक २ वटा बसपार्क भएपनि यातायात व्यवसायीले उक्त बसपार्कमा नलगी सडकबीचमै बस तथा जिप पार्किङ गर्दै आएका छन् । १० वर्षअघिदेखि यातायात सञ्चालन हुँदै आएको जिल्लामा करिब ३०० को हाराहारीमा बस, जिप, ट्रक र ट्र्याक्टर सञ्चालनमा रहेका छन् ।

 

  • 41Read This News:
  • 532020Total reads:
  • 334935Total visitors: