दशैँ सकिएलगत्तै कोदारी राजमार्गको मर्मत गर्न मन्त्री महासेठको निर्देशन

काठमाडौँ, २८ असोज २०७५ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले तातोपानी नाका सञ्चालनमा ल्याउनका लागि कोदारी राजमार्गको मर्मत सम्भारको काम दशैँलगत्तै अगाडि बढाउन मन्त्रालय मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

शनिवार उक्त राजमार्गको स्थलगत निरीक्षणका क्रममा सिन्धुपाल्चोकको बाह्रबिसे, मितेरी पुलसम्म पुग्नुभएका मन्त्री महासेठले पहिरो नियन्त्रणको काम दशैँलगत्तै शुरु गर्न र त्यसका लागि आवश्यक प्राविधिक तयारी गर्न निर्देशन दिनुभएको हो ।

‘गोरखा भूकम्प’पछि दर्जनौँ स्थानमा पहिरो गएका कारण राजमार्ग अवरुद्ध छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असार ५ गतेदेखि १० गतेसम्म गर्नुभएको चीन भ्रमणका क्रममा सो नाका आगामी चैत अन्तिम सातादेखि खुलाउने विषयमा सहमति भएको छ ।

स्थलगत निरीक्षणमा पुग्नुभएका मन्त्री महासेठ, सिन्धुपाल्चोकबाट प्रतिनिधिसभा सदस्य अग्निप्रसाद सापकोटा, प्रदेश नं ३ का वन, वातावरण तथा उद्योगमन्त्री अरुण नेपाल लगायतले पहिरो नियन्त्रण, राजमार्गको मर्मत सम्भारलाई प्राथमिकतामा राखी काम गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराउनुभएको थियो ।

तातोपानी नाका बन्द हुँदा मुलुकले ठूलो मात्रामा राजस्व गुमाउँदै आएको छ भने हजारौँको रोजगारीसमेत प्रभावित भएको छ । मन्त्री महासेठले नाका खुल्ने विषयमा नेपाल र चीनबीच सहमति भएको सन्दर्भमा राजमार्गलाई व्यवस्थित बनाउन सरकारले दशैँलगत्तै काम शुरु गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

मन्त्री महासेठले सडक विभागका महानिर्देशक रवीन्द्र श्रेष्ठलाई राजमार्ग मर्मतको कार्ययोजना तत्काल तयार पार्न निर्देशन दिनुभएको छ ।

डिभिजन कार्यालय चरिकोटका सिनियर डिभिजनल इञ्जिनियर अशोक तिवारीले केही दिनभित्रै पूर्ण कार्ययोजना तयार पारी पेश गर्ने प्रतिबद्धता जनाउनुभभयो ।

चीन सरकारको लगानीमा सिन्धुपाल्चोकको लार्चामा निर्माण भइरहेको सुक्खा बन्दरगाहको कामसमेत अगाडि बढेका सन्दर्भमा राजमार्ग मर्मतलाई विशेष प्राथमकितामा राख्न नेपाल कम्युनिस्ट पार्टीका नेता एवं सिन्धुपाल्चोकबाट प्रतिनिधिसभा सदस्य सापकोटाले आग्रह गर्नुभयो ।

मन्त्री महासेठ लगायतको टोलीले स्थानीयवासीसँग पनि राजमार्ग सञ्चालनका बारेमा अन्तक्र्रिया गरेको थियो । भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले राजमार्ग मर्मतका लागि आवश्यक समन्वय गर्न गाउँपालिका तयार रहेको बताउनुभयो ।

भूकम्पपछि नियमित मर्मत सम्भार हुन नसक्दा राजमार्गमा दर्जनौँ पहिरो खसेका छन् । यातायात सञ्चालनमा ल्याउने गरी राजमार्गको मर्मत गर्ने र आगामी चैतदेखि नाकासमेत खुल्ने भएकाले भन्सार, अध्यागमन कार्यालयलाई समेत थप व्यवस्थित गर्नुपर्नेमा स्थानीयवासीले जोड दिएका छन् ।

 

  • 14Read This News:
  • 259001Total reads:
  • 129095Total visitors: