‘स्वदेश र सपना’ विमोचन

काठमाडौं, १ असोज २०७४ । गीतकार चुडामणी देवकोटाको एकल रचना, शक्ति बल्लभको एकल संगीत र गायक सुमित खड्काको एकल स्वर रहेको राष्ट्रिय भावनाका गीतहरु समेटिएको एल्बम ‘स्वदेश र सपना’ सार्वजनिक भएको छ । एक समयको चर्चित नेपाली चलचित्र माइतीघरका नायक सिपी लोहनी, नायिका माला सिन्हा, वरिष्ठ गायक प्रेमध्वज प्रधान, गीतकार किरण खरेल, रत्नशमसेर थापा, कवि डा।विमल कोइराला, एसपी कोइराला लगायतले शुक्रबार एल्बम सार्वजनिक गरे । गीतकार संघ नेपालका अध्यक्ष समेत रहेका देवकोटाको यो पाँचौं र गायक खड्काको राष्ट्रिय गीतको एकल एल्बम हो । कार्यक्रममा गायक खड्काले तीन गीत सुनाए ।

गीतकार संघ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै वरिष्ठ गायक प्रधानले आगामी दिनमापनि यस्तै गीतहरु ल्याउन आग्रह गरे । त्यस्तै डा।कोइरालाले राष्ट्रिय भावका गीतले कुनै न कुनै रुपमा मान्छेहरुको भावना जोड्ने हुनाले यस्ता गीत रचनामा अझै जोड दिनु पर्ने बताए । त्यसैगरी एसपी कोइरालाले परम्परादेखि नै नेपालमा राष्ट्रिय भावका गीतहरु लेखिने, गाईने गरेको बताए । उनले राजादेखि जनतासम्मले लेखेका राष्ट्रिय गीतले सबैमा देशप्रति सकारात्मक भावना जन्माएको बताए । गीतकार देवकोटाले आफुले निरन्तर राष्ट्रिय भावका गीतहरु लेख्दै आएको र आगामी दिनमापनि निरन्तरता दिने बताए ।

समाचार श्रोतः सुमित खड्का/http://purbelinews.com

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*